विश्वका उदीयमान तथा अवसरबाट पछाडि परेका देशका सिर्जनशील प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने उद्देश्यसहित ग्लोबल क्रिएटिभ फाउन्डेसन (जिसिएफ) औपचारिक रूपमा सुरू भएको छ।
फाउन्डेसनले आफ्नो वेबसाइट सार्वजनिक गर्दै भौगोलिक अवस्था, आर्थिक हैसियत वा अवसरको अभावका कारण कुनै पनि सिर्जनशील प्रतिभा पछि पर्न नहुने मान्यतासहित अन्तर्राष्ट्रिय पहल अघि बढाएको जनाएको छ।
विज्ञापन एजेन्सी, शैक्षिक संस्था, स्वतन्त्र स्टुडियो, साना सहर तथा समुदायमा सिर्जनशील प्रतिभा रहे पनि उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउने अवसर सीमित रहेको फाउन्डेसनको भनाइ छ।
विशेषगरी उदीयमान बजारका विज्ञापन एजेन्सीले विकसित बजारका प्रतिस्पर्धीको तुलनामा कम बजेटमा काम गर्नुपर्ने अवस्था छ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन, गुणस्तरीय शिक्षा लिन, उद्योगसम्बन्धी कार्यक्रममा उपस्थित हुन र व्यावसायिक सञ्जाल विस्तार गर्न लाग्ने खर्च पनि उनीहरूका लागि चुनौती बन्ने गरेको छ।
यही चुनौतीलाई सम्बोधन गर्न बंगलादेशको ढाकास्थित पपफाइभका चिफ क्रिएटिभ अफिसर मोहम्मद अक्रम हुसेनले फाउन्डेसन स्थापना गरेका हुन्।
विज्ञापन तथा सिर्जनशील क्षेत्रमा स्थानीय र अन्तर्राष्ट्रिय गरी २७० भन्दा बढी पुरस्कार प्राप्त गरिसकेका हुसेनले कान्स लायन्स, डीएन्डएडी, द वान शो, स्पाइक्स एसिया, म्याड स्टार्स र ग्लोबल एफी अवार्डलगायतका अन्तर्राष्ट्रिय मञ्चबाट सम्मान पाएका छन्।
हुसेनका अनुसार अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगबाट ज्ञान र अवसर प्राप्त गरेका व्यक्तिहरूले अवसरबाट वञ्चित समुदायसँग आफ्नो अनुभव र सीप बाँड्ने जिम्मेवारी लिनुपर्छ।
उनले उदीयमान बजारमा रहेका प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित हुन आवश्यक सहयोग र अवसर उपलब्ध गराउने लक्ष्य राखिएको बताएका छन्।
फाउन्डेसनको सल्लाहकार बोर्डमा पाँच महादेशका ३८ देशबाट ४८ जना सिर्जनशील क्षेत्रका अगुवा आबद्ध छन्।
उनीहरूले कार्यक्रमको मापदण्ड निर्धारण, निर्णायकको भूमिका निर्वाह, नयाँ प्रतिभालाई मार्गदर्शन तथा अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने काम गर्नेछन्।