पूर्व-पश्चिम राजमार्गको बुटवल–चन्द्रौटा खण्ड पार गर्दा यात्रुहरूका आँखा एकाएक सडक किनारको एउटा पहाडको भित्तामा ठोकिन्छन्।
केही वर्ष अघिसम्म त्यो केवल एउटा रूखो र अनकन्टार पहाड थियो, जहाँ चराचुरुङ्गीको आवाज र गाडीको कर्कश हर्नबाहेक अरू केही सुनिँदैनथ्यो। तर, आज समय फेरिएको छ। कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ स्थित बनकस बासाको त्यो सुनसान डाँडा अहिले ‘शिव भाइरल डाँडा’ को रूपमा देशैभर चिनिएको छ।
पहाडको यही डाँडा एउटा कलाको शक्ति र त्यसले एउटा भूगोलको परिचयलाई कसरी फेरिदिन्छ भन्ने उदाहरण बनेको छ।
तीन वर्ष अगाडिको कुरा हो, सडक किनारको पहाडको भित्तामा भगवान शिवको आकृति कोरियो। सिमेन्ट र रङको एउटा सानो कलाले सिंगो क्षेत्रको परिचय यसरी फेरिदिन्छ भन्ने कसैले सोचेको थिएन। शिवराज नगरपालिकाका प्रमुख अजय थापाकै पहलमा पहाडको भित्तामा सिमेन्ट र रङ पोतेर शिवको आकृति उतारिएको थियो।
‘सुरूमा यो एउटा पर्यटकीय आकर्षण मात्र बनाउने सोच थियो,’ नगरप्रमुख थापा सम्झन्छन्।
तर जब सामाजिक सञ्जालमा यसको तस्बिर र भिडिओ भाइरल हुन थाल्यो अनकन्टार पहाड एकाएक 'शिव भाइरल डाँडा' को रूपमा चर्चा हुन थाल्यो। पूर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुहरू मात्र होइन दुई वटा पहाडको बीचमा बनेको कालोपत्रे सडक र पहाडको भित्तामा कोरिएको शिवको तस्बिर सँगै टिकटक बनाउने, सेल्फी खिच्ने र फेसबुकमा पोस्ट गर्नेहरूको भीड बढ्न थाल्यो। एउटा चित्रले अनकन्टार पहाडलाई रातारात एउटा सेलिब्रेटी गन्तव्य बनाइदियो।
अहिले शिव भाइरल डाँडामा तीन वर्षअघि बनाइएको भगवानको शिवको तस्बिर मात्र होइन, अरू संरचना पनि थपिएका छन्। शिवराज नगरपालिकाले करिब साढे दुई लाख रुपैयाँको लगानीमा यसै वर्ष त्यहाँ २६ मिटर अग्लो विशाल वासुकी नागको प्रतीमा निर्माण गरेको छ। नागको त्यो आकर्षक स्वरूपले राजमार्ग भएर हिँड्ने जो–कोहीलाई पनि गाडी रोक्न बाध्य पार्छ।
धार्मिक आस्था र पर्यटनलाई जोड्दै स्थानीय समाजसेवीहरूले आफ्ना दिवङ्गत आफन्तको स्मृतिमा त्यहाँ शिव लिङ्गहरू स्थापना गर्न थालेका छन्। हाल चार वटा शिव लिंग स्थापना भइसकेका छन् भने नगरपालिकाले यसलाई १०८ शिव लिङ्गको विशेष धार्मिक क्षेत्र बनाउने लक्ष्य राखेको छ।
‘राजमार्गको कोलाहलबीच यहाँ आइपुग्ने भक्तजनहरूले एउटा छुट्टै आध्यात्मिक शान्ति महसुस गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो,’ थापाले भने।

पूर्वपश्चिम राजमार्ग भएर गुड्ने सयौँ यात्रु र सवारी साधनहरू रोकेर तस्बिर र भिडिओ लिन थालेपछि यही भाइरल डाँडामा ठेलामा व्यापार गरेर केही परिवारको जीविका चल्न थालेको छ। धान खोलाकी भूमि विश्वकर्माले पछिल्लो २ वर्षदेखि चाउचाउ, बिस्कुट, मिठाइ पानी लगायतका वस्तु विक्री गरेर जीविका चलाउँदै आएकी छन्।
‘पहिले त यहाँ मान्छे देखिनु पनि अचम्म हुन्थ्यो, उनी भन्छिन्, ‘अहिले त चाउचाउ, बिस्कुट, मिठाइ र पानी बेचेरै घर खर्च चलेको छ। मान्छेहरू रोकिन्छन्, फोटो खिच्छन् र केही न केही किनेर खाएर जान्छन्। चोर खोलाकी मनीषा घलेले एक वर्ष भयो सडक किनारमा ठेला राखेर व्यापार गर्न थालेको।’
पहाडको भित्तामा शिवको तस्बिर बनाएपछि नै बाटोमा हिड्ने यात्रुहरूले तस्बिर र भिडिओ खिच्ने गर्थे, नागको प्रतीमा र शिव लिंग निर्माण गरेपछि धार्मिक पर्यटकहरू पनि आउन थालेका छन्। मान्छेहरूको आवतजावत बढेपछि कुरकुरे, बिस्कुट, चाउचाउ, पानी मिठाई, चटपटे लगायतका खानेकुराको बिक्री बढेको छ,’ उनले अगाडि थपिन्।
'भाइरल डाँडा' को नजिकै तल एउटा प्राकृतिक तातोपानीको कुण्ड छ। नगरपालिकाले अब यो कुण्डलाई पनि व्यवस्थित गर्ने सोच बनाएको छ। सडकदेखि कुण्डसम्म सिँढी निर्माण गर्ने र त्यहाँ स्नान गरेपछि शिव लिङ्गमा जलार्पण गर्ने व्यवस्था मिलाउन सके यसले धार्मिक पर्यटनमा नयाँ आयाम थप्ने नगर प्रमुख थापाको विश्वास छ।

नगर प्रमुख थापाको योजना अलि बृहत् छ। उनी यो डाँडालाई केवल तस्बिर र भिडिओ खिच्ने ‘सेल्फी पोइन्ट’ मा मात्र सीमित राख्न चाहँदैनन्। नजिकै रहेको ऐतिहासिक र सामरिक महत्त्व बोकेको शिव गढी किल्लाको प्रचार प्रसार गर्नु आफ्नो मुख्य लक्ष्य रहेको थापा बताउँछन्।
शिवराज नगरपालिका वडा नं. ९ मा रहेको शिवगढी किल्ला ऐतिहासिक रूपमा अत्यन्तै महत्त्वपूर्ण भए पनि सडक पहुँच र प्रचारको अभावमा ओझेलमा छ। चन्द्रौटा बजारबाट करिब ३० किलोमिटरको दूरीमा रहेको यो किल्ला पुग्न धान खोलाबाट ८ किलोमिटर उकालो पैदल यात्रा गर्नुपर्छ।
‘भाइरल डाँडामा मान्छेको ध्यान खिचिएपछि अब हामी यहाँ शिव गढीको बारेमा जानकारी दिने ठूला होडिङ बोर्डहरू राख्दैछौं,’ थापाले आफ्नो योजना सुनाए, ‘शिव गढीको इतिहाससँग सर्वसाधारणलाई जोड्ने यो हाम्रो एउटा कलात्मक माध्यम हो।’

