नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन्।
यो संख्या गत वर्षको सोही महिनाको तुलनामा २.३ प्रतिशत बढी हो। गत वर्ष जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए।
नेपाल पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्।
भारतबाट २३ हजार ४९० जना पर्यटक आएका छन्, जुन कुल आगमनको ३२.७३ प्रतिशत हो।
जुलाईमा चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ।
यस वर्ष जुलाईमा चीनबाट ११ हजार ९९ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ६१.०९ प्रतिशत बढी हो।
यो संख्या कोभिडअघि सन् २०१९ को जुलाईको तुलनामा पनि ८.६५ प्रतिशत बढी रहेको बोर्डले जनाएको छ।
अमेरिकाबाट ७ हजार ७५४, बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटक नेपाल आएका छन्।
क्षेत्रगत रूपमा हेर्दा, दक्षिण एसियाली (सार्क) मुलुकबाट २९ हजार ७५५ जना पर्यटक आएका छन्।
यो कुल आगमनको ४१.४६ प्रतिशत भए पनि गत वर्षको तुलनामा ११.९३ प्रतिशत कम हो।
दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट १७ हजार ४२४ जना पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३३.०५ प्रतिशत बढी हो।
यस समूहमा चीनपछि दक्षिण कोरिया, मलेसिया, जापान, भियतनाम, सिंगापुर, म्यानमार र थाइल्यान्ड प्रमुख स्रोत मुलुक रहेका छन्।
जुलाईमा युरोपबाट ९ हजार २७९, अमेरिकी महादेशबाट ८ हजार ८२४, ओसियानियाबाट २ हजार ६०७, मध्यपूर्वबाट ७३६ र अफ्रिकी मुलुकबाट ३२४ जना पर्यटक नेपाल आएका छन्।