अविरल वर्षाका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दिनभर उडान प्रभावित भएको छ। भिजिबिलिटी नपुगेपछि फ्लाई दुबईले शुक्रबारको दुबई–पोखरा–दुबई उडान स्थगित गरेको हो।
विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीका अनुसार लगातार पानी परिरहेकाले उडान तथा अवतरणका लागि आवश्यक भिजिबिलिटी पुगेन।
‘अविरल पानी परिरहेकाले विमानस्थल चलाउन भिजिबिलिटी नै पुगेन,’ उनले भनिन्, ‘आन्तरिक उडान पनि हुन नसकेकाले आजका लागि फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रविधिबाट उडान तथा अवतरण गर्न कम्तीमा ३१०० मिटर भिजिबिलिटी आवश्यक पर्ने रेग्मीले बताइन्। भिजुअल फ्लाइट रुल्स (भीएफआर) अन्तर्गत उडानका लागि भने ५००० मिटर टाढासम्म देखिनुपर्ने हुन्छ।
शुक्रबार आवश्यक भिजिबिलिटी नपुगेपछि दिनभर आन्तरिक उडानसमेत प्रभावित भएको उनले बताइन्। साँझपख बुद्ध एयरका तीनवटा जहाजले काठमाडौं–पोखरा–काठमाडौं उडान भने गरेका थिए।
फ्लाई दुबईले बुधबारदेखि दुबई–पोखरा–दुबई नियमित उडान सुरू गरेको थियो। शुक्रबार बिहानै मौसम बिग्रिएपछि कम्पनीले दुबईबाटै पोखराको उडान स्थगित गरेको रेग्मीले बताइन्।
उनका अनुसार शुक्रबार फ्लाई दुबईबाट ९५ जना यात्रु दुबईबाट पोखरा आउने र ९० जना पोखराबाट दुबई जाने तयारीमा थिए।
‘यहाँ आएर डाइभर्ट हुनुभन्दा उताबाट उडान नै स्थगित भएको ठीक हो नि,’ रेग्मीले भनिन्, ‘उडानको समयसीमा र यात्रुलाई पूर्वजानकारी गराउनुपर्ने भएकाले पनि फ्लाई दुबईको आजको उडान स्थगित भएको होला।’
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली भारत प्रवेश गरेपछि त्यसको प्रभावले नेपालमा वर्षा भइरहेको हो।
मौसमविद् लामिछानेका अनुसार उक्त प्रणालीको प्रभाव नेपालका पश्चिमी भूभागमा शुक्रबारदेखि थप बढ्ने देखिएको छ। अहिले यसको प्रभाव देशभर रहे पनि एक–दुई दिन पश्चिमी भूभागमा वर्षाको गतिविधि अझ बढ्न सक्ने उनले बताए।
महाशाखाका अनुसार बिहीबार र शुक्रबार तुलनात्मक रूपमा कम वर्षा भएका पश्चिमी क्षेत्रमा शनिबार बढी वर्षा हुने सम्भावना छ।
मौसममा सुधार आउनासाथ फ्लाई दुबईसहित आन्तरिक तथा बाह्य उडान निर्धारित समयमै नियमित हुने रेग्मीले बताइन्।
फ्लाई दुबईले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेपछि पोखराका पर्यटन व्यवसायी उत्साहित छन्।