नेपालको पूर्वी नाका काँकडभिट्टाबाट चार किलोमिटर पश्चिम लागेपछि आउँछ मेचीनगरको इँटाभट्टा। केही वर्षअघिसम्म गाउँ भन्न मिल्ने यो ठाउँ बजार हुँदै सानो सहरी क्षेत्रमा उक्लेको छ।
यही ठाउँमा निर्माणाधीन अवस्थामा छ पाँचतारे होटल अश्वत्थ।
त्यसो त चारतारेस्तरको सुविधासहित यो होटल सञ्चालनमा आएको डेढ वर्ष पूरा भइसकेको छ। सुरूमा यसका सञ्चालक प्रज्ज्वल घिमिरेलाई एक किलोमिटर दुरीमा रहेको अर्को पाँचतारे होटल मेची क्राउन देखाउँदै होटल नचल्ने हो कि भन्ने डर देखाउनेहरू पनि थिए।
आफ्नो होटललाई पाँचतारेमा उक्ल्याउने अन्तिम तयारीमा रहेका घिमिरेले हिम्मत देखाउँदै १ अर्ब ४० करोड रूपैयाँ लगानीमा होटल उभ्याइसकेका छन्।
'सुविधायुक्त होटल थपिएपछि बास बस्न आउने, कार्यक्रमका लागि आउनेहरूको खाँचो नहुने रहेछ,' उनले भने, 'भारतीयहरूको राम्रो आउजाउ त छ नै, तेस्रो देशका पर्यटकहरूको पनि होटलमा बाक्लै जमघट चलिरहेको छ।'
केही महिनाभित्रै क्यासिनोसमेत सुरू हुने होटलको मुख्य लक्ष्य भारतीय पर्यटक भए पनि अहिले तेस्रो देशका पर्यटकहरू पनि बाक्लै आइरहेको घिमिरे बताउँछन्।
'कोस्टारिकादेखि स्पेनसम्म, इजिप्टदेखि टर्कीसम्मका चियाका व्यापारीहरू ढुक्कै हाम्रोमा बस्छन्,' उनले भने, 'उनीहरू नेपालको चिया उता लैजाने गरी नियमित रूपमा यहाँ आएर कारोबार गर्दा रहेछन्।'
यसबाहेक भारतीयहरू धेरैले अचेल विवाह उत्सव नेपालका सीमावर्ती सहरमा खुलेका तारे होटलहरूमा आयोजना गर्न थालेका छन्।
'नेपालमा गएर बिहे गरेको भन्ने कुरा धेरै भारतीयका लागि गौरवको विषय हुँदोरहेछ,' लामो समय सञ्चार उद्यम गरेपछि सिनेमा हल हुँदै होटल व्यवसायमा प्रवेश गरेका घिमिरेले सुनाए, 'दार्जिलिङ, सिक्किम, कोलकातादेखि दक्षिण भारतसम्मका भारतीयहरू झापाको यो ठाउँमा आएर विवाह उत्सव गर्छन्। अहिलेका लागि हाम्रो मुख्य ग्राहक उनीहरू नै हुन्।'
अनलाइनमार्फत सम्पर्कमा आउने भारतीय र विदेशी ग्राहकहरूका कारण होटलले उत्साह जगाएको उनको भनाइ छ।
अश्वत्थ होटल रहेको इँटाभट्टाबाट एक किलोमिटर पूर्व लागेपछि आइपुग्छ निन्दा खोलाको पुल। त्यही पुलको उत्तरतर्फको आडैमा सञ्चालित छ अर्को पाँचतारे होटल मेची क्राउन अर्थात् 'एचएमसी।'

२४ घन्टा र सातै दिन खुला रहने क्यासिनोसहितको यो पाँचतारे होटल पछिल्लो समय भारतीयहरूको एउटा प्रमुख गन्तव्य बनिरहेको छ। तेस्रो देशका पर्यटकहरू पनि होटलमा उत्तिकै आइरहन्छन्।
मेची क्राउनबाट झन्डै सात सय मिटर पश्चिम लागेपछि भेटिन्छ धुलाबारीको मुख्य चोक। यसको ठ्याक्कै उत्तरतर्फ निर्माणाधीन छ अर्को पाँचतारे होटल–होलिडे इन एक्सप्रेस एन्ड स्विट्स।
निर्माणाधीन यो पाँचतारे होटल होटल इस्टर्न नेपाल मातहतको हो। यो होटल पूर्व ऊर्जामन्त्री दीपक खड्काकी पत्नी विनिता खड्काको स्वामित्वमा थियो। गएको असारबाट राजेशकुमार सोनीको हातमा पुगेको छ। खड्काले आफ्नो सेयर बिक्री गरिसकेका छन्।
धुलाबारीबाट इँटाभट्टाको झन्डै दुई किलोमिटर क्षेत्रमा तीन वटा पाँचतारे होटलमध्ये दुईटा सञ्चालनमै छन् भने एउटा निर्माणकै चरणमा छ। त्यसभन्दा अगाडि सीमावर्ती सहर काँकडभिट्टामा क्यासिनो सुविधासहितका दुई वटा ठूला होटल लामो समयदेखि सञ्चालनमा छन्।
झापाको यो सीमावर्ती नगरमा मात्रै होइन, कोशी तराईका अरू दुई जिल्ला मोरङ र सुनसरीमा पनि पाँचतारे होटलहरू धमाधम थपिने क्रममा छन्। सुविधायुक्त अन्य ठूला होटलको संख्या पनि लगातार थपिँदै गएको छ।
काँकडभिट्टा, धुलाबारी, बिर्तामोड, दमक हुँदै मोरङको विराटचोक, सुनसरीको इटहरी र विराटनगरसम्म ठूला होटल थपिइरहेका छन्। केही सञ्चालनमा आइसकेका छन्, केही निर्माणाधीन छन्।
होटलको संख्या र लगानी बढेसँगै कोशी प्रदेशका प्रमुख सहरहरू 'होटल हब' का रूपमा विकास भइरहेका छन्। यति धेरै नयाँ होटललाई धान्ने ग्राहक कहाँबाट आउलान्?
होटल व्यवसायीहरूको जबाफ लगभग समान छ, 'पूर्वी नेपालका ठूला होटलको बजार सीमापारिसम्म फैलिएको छ। विशेषगरी भारतको पश्चिम बंगाल, बिहार, सिक्किम र पूर्वोत्तर क्षेत्रका सहरबाट आउने ग्राहक तथा पर्यटकमा होटल व्यवसाय निर्भर छ।'
त्यससँगै क्यासिनो, धार्मिक तथा अन्य पर्यटकीय गतिविधि, व्यापारिक आवतजावत पनि होटल व्यवसायीहरूले आफ्नो बजार विस्तारको आधार मानेका छन्।
धुलाबारीस्थित पाँचतारे होटल मेची क्राउनका प्रमुख सञ्चालक बलराम सापकोटा सीमावर्ती सहरमा भइरहेको लगानीले होटलको क्षमता थपेको र यसले पर्यटनसँग जोडिएका अरू व्यवसायका लागि पनि आधार बनाएको बताउँछन्।
'सीमावर्ती सहरमा बढेको यो लगानीले होटल व्यवसाय मात्र विस्तार गरेको छैन, पर्यटनसँग जोडिएका अन्य आर्थिक गतिविधिको आधार पनि तयार पारेको छ,' उनले भने।
व्यवसायीहरूका अनुसार पछिल्लो पाँच–सात वर्षमा कोशी प्रदेशको होटल क्षेत्रमा एक खर्ब रूपैयाँभन्दा बढी लगानी भइसकेको छ। झापा, मोरङ र सुनसरीमा मात्रै पौने खर्ब रूपैयाँ लगानी पुगेको उनीहरूको भनाइ छ।
नयाँ होटल थपिँदै जाँदा तिनलाई नियमित ग्राहक आवश्यक हुन्छ। त्यसका लागि पूर्वी नेपालका होटल व्यवसायीले आन्तरिक बजारभन्दा बढी सीमापारिको ग्राहकलाई आधार बनाएका छन्।
पश्चिम बंगाल, बिहार, सिक्किम तथा भारतका पूर्वोत्तर क्षेत्रका विभिन्न सहरबाट नेपाल आउने पर्यटकमध्ये कतिपय सीमावर्ती सहरमा बस्ने गरेका छन्।
उनीहरूका लागि आवाससँगै क्यासिनो, मनोरञ्जन र अन्य सेवाले पनि होटलको माग सिर्जना गरेको व्यवसायीहरू बताउँछन्। पछिल्लो समय बंगलादेशबाट समेत पर्यटक आउन थालेको उनीहरूको भनाइ छ।
नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुरिजम एजेन्ट्स (नाटा) कोशी प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठका अनुसार स्तरीय होटलको उपलब्धताले पर्यटकको बसाइ केही लामो बनाउन सहयोग गरेको छ।
'स्तरीय होटल उपलब्ध भएपछि पर्यटक एक दिन आएर फर्किनेभन्दा केही दिन बस्ने चलन बढेको छ,' उनले भने, 'कोशी प्रदेशको पर्यटनका लागि यो सुखद् संकेत हो। तर रसुवा बाढीले यसलाई केही बिथोलेको अवस्था छ।'
पछिल्लो समय धेरै उच्च र मध्यम वर्गीय भारतीयहरूका लागि झापाका तारे होटलहरू 'वेडिङ डेस्टिनेसन' बनेका श्रेष्ठले बताए।
कोशी प्रदेशमा तारे होटलको संख्या सबैभन्दा बढी झापामा छ। जिल्लामा अहिले तीन वटा पाँचतारे होटल सञ्चालनमा छन्— धुलाबारीमा मेची क्राउन, इँटाभट्टामा अश्वत्थ र बिर्तामोडमा किङ्सबेरी।
धुलाबारीमै होटल इस्टर्न नेपाल प्रालिले झन्डै अर्ब हाराहारीको लगानीमा होलिडे इन एक्सप्रेस एन्ड सुइट्स तयार पार्दैछ। बिर्तामोडमा अर्को पाँचतारे होटल निर्माणको अन्तिम चरणमा रहेको श्रेष्ठ बताउँछन्।

मोरङको विराटनगरमा पनि ठूला र सुविधायुक्त होटल थपिने क्रममा छन्। यहाँका होटल पनि सीमापारिका ग्राहक लक्षित नै हुन्।
केही महिनाअघि मात्रै भारतीय होटल चेन लेमन ट्रीले विराटनगरमा पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याइसकेको छ। नेपालमा लेमन ट्रीको यो तेस्रो होटल हो।
विराटनगर केन्द्रित भएर लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय भवेशकुमार श्रेष्ठ आफै होटल सञ्चालक हुन्। विराटनगरको पुरानोमध्येको होटल इस्टर्न स्टारका सञ्चालक उनी पूर्वी तराईका होटलहरू भारतीय ग्राहक र पर्यटक केन्द्रित भएको बताउँछन्।
'पछिल्लो पाँच–सात वर्षयता मात्रै कोशी प्रदेशमा होटल व्यवसायमा ठूलो रकम लगानी भइसकेको छ,' श्रेष्ठले थपे, 'केही पाँचतारे होटल सञ्चालनमा छन्, केही तयारीमा छन्। सुविधायुक्त अन्य होटलहरू पनि धमाधम थपिएका छन्।'
सुनसरीको इटहरीमा सोल्टी इस्ट तारे होटल सञ्चालनमा छ। मोरङको विराटचोक र झापाको दमकमा पनि ठूलो लगानीको होटल नेपालीरिका सञ्चालनमा छ।
पूर्वी नेपालमा ठूला होटल थपिनुको पछाडि सीमावर्ती बजारको भूमिका महत्वपूर्ण रहेको व्यवसायीहरू बताउँछन्।
झापाको काँकडभिट्टा–पानीट्यांकी नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकका लागि काँकडभिट्टा र धुलाबारी पहिलो प्रमुख बजार हुन्। त्यसपछि बिर्तामोड हुँदै विराटनगरसम्म व्यापारिक तथा पर्यटकीय गतिविधि जोडिन्छ।
भारतीय पर्यटकका लागि होटल, क्यासिनो, मनोरञ्जन र आवासको मागले सीमावर्ती सहरमा ठूला होटलको सम्भावना बढाएको व्यवसायीहरूको भनाइ छ।
पर्यटकलाई सीमामा प्रवेश गराएर एक रात बसाल्ने मात्र होइन, थप केही दिन रोक्ने वातावरण बनाउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ताले भने सधैं पिरोल्ने गरेको व्यवसायीहरू बताउँछन्।
'धार्मिक तथा अन्य पर्यटकीय गतिविधिका लागि आउने भारतीय पर्यटकलाई केही दिन नेपालमै रोक्न सके होटलसँगै यातायात, रेस्टुरेन्ट, मनोरञ्जन र अन्य पर्यटन व्यवसायले समेत लाभ लिन सक्ने थियो,' विराटनगरका व्यवसायी भवेष श्रेष्ठले भने, 'त्यसका लागि पर्यटन गन्तव्यहरू विकास गर्न जरूरी छ।'
होटलमा आउने ग्राहकलाई लामो समय रोक्न सक्ने पर्यटन बजार विस्तार हुनु पनि उत्तिकै आवश्यक छ। यो क्षेत्रमा भएको ठूलो लगानीले रोजगारी पनि बढाएको छ।
तारे होटल सञ्चालनका लागि ठूलो जनशक्ति आवश्यक पर्ने भएकाले होटल क्षेत्र सीमावर्ती सहरमा रोजगारीको नयाँ आधार बनेको अर्का होटल व्यवसायी प्रमोद आचार्य बताउँछन्।
'कम्तीमा ३५ हजार जति होटल क्षेत्रबाट प्रत्यक्ष–अप्रत्यक्ष रोजगारीमा छन्,' आचार्यले थपे, 'होटलभित्र काम गर्ने जनशक्तिमा मात्र यसको प्रभाव सीमित हुँदैन। होटलमा आउने ग्राहकसँग जोडिने यातायात, खाद्य तथा पेय पदार्थ, स्थानीय उत्पादन, मनोरञ्जन, पर्यटन गाइड, सरसफाइ र आपूर्ति प्रणालीसम्म यसको साइनो जोडिन्छ।'