दाङ तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको स्थलगत निरीक्षण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यसहितको एक प्रतिनिधिमण्डल दाङ आउँदै छ।
७ दशक लामो इतिहास बोकेको टरिगाउँ एयरपोर्टको विकास तथा धावनमार्ग विस्तारका लागि भनेर २५ करोड बजेट छुट्याएको सरकारले निरीक्षण तथा अध्ययनका लागि इन्जिनियर तथा प्राविधिक सम्मिलित टोली काठमाडौंबाट दाङ गएका हुन्।
दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महामन्त्री आचार्य, दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कमल सुवेदीसहित केन्द्रीय सदस्यहरूको टोली आइतबार नै काठमाडौंबाट दाङ आइपुगेको तुलसीपुर रास्वपाका एक नेता बिमल रिजालले बताए।
‘महामन्त्री, केन्द्रीय सदस्य र माननीयसहितको टोली हामी भैरहवा अवतरण गरी दाङतर्फ आउँदैछौं,’ रिजालले भने, ‘पर्यटनमन्त्रीज्यू र इञ्जिनियरसहितको टोली बुधबारसम्म टरिगाउँ एयरपोर्टको स्थलगत निरीक्षण गर्न आउने योजना तय छ।’
पर्यटन मन्त्री पौडेल सहितको प्राविधिक टोलीले छुट्याइएको २५ करोडले पहिले के काम गर्ने? भन्ने बारेमा स्थानीयसँग एयरपोर्टमै खुला छलफल तथा परामर्श पनि गर्ने गरी आउन थालेको हो।
प्राविधिक टोलीले टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तारबारे आफ्नो तर्फबाट अध्ययन गर्ने भएको हो।
दाङको क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कमल सुवेदीले पनि पर्यटन मन्त्री पौडेलसहित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक मुकेश डंगोलसहित इञ्जिनियरहरूको टोली आएर एयरपोर्टमै स्थानीयसँग खुला छलफल गरिने बताए।
‘मन्त्रीज्यू र डिजी लगायतको प्राविधिक टोली टरिगाउँ एयरपोर्टमा आई सामूहिक रूपमा खुला छलफल गर्ने निर्णयका साथ हामी पनि दाङ आउँदै छौं,’ सुवेदीले भने, ‘त्यो छलफलपछि वर्षौं अलपत्र एयरपोर्ट निर्माण कार्य अगाडि बढ्ने छ।’
महामन्त्री आचार्यको पुर्ख्यौली घर दाङ क्षेत्र नं. ३ मै पर्छ। गत निर्वाचनमा उनले यही क्षेत्रबाट मतदान गरेका थिए।
टरिगाउँ एयरपोर्टको इतिहासमै (७ दशकपछि) यसको विकासका लागि भनेर राज्यबाट सबैभन्दा धेरै बजेट छुट्याइएको यसै पाली हो ।
टरिगाउँ एयरपोर्ट २०११ सालमा स्थापना भएको एयरपोर्ट हो। वर्षौं घाँसे मैदानमै विमान सेवा नियमित भए पनि प्रजातन्त्रको पुनःस्थापनापछिको केही समय र ‘जनयुद्ध’को उत्कर्षताका यो एयरपोर्टको सेवा अनियमित बनेको थियो।
तत्कालीन पर्यटन मन्त्री लोकेन्द्र बिष्ट मगरको पालामा टरिगाउँ एयरपोर्टको धावनमार्ग जम्मा ७५० मिटरमा मात्रै कालोपत्रे गरिएको थियो। जसले गर्दा यहाँ ठूला विमान अवतरण हुन सक्दैनन्। त्यसैले यो एयरपोर्टको धावनमार्ग विस्तार गरी एटिआरसम्मको विमानले सेवा दिन सक्ने गरी विकास गर्नु कुरा वर्षौंदेखि चल्दै आएको छ।
टरिगाउँ एयरपोर्टको विकास र धावनमार्ग विस्तारको कुरा हरेकजसो राजनीतिक दलहरूको प्रमुख चुनावी एजेण्डा बन्ने गर्छ।
यो पनि:
