भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण केही समय रोकिएको त्रिशूली नदीको साहसिक जलयात्रा (र्याफ्टिङ) पुनः नियमित रूपमा सञ्चालनमा आएको छ।
बाढीपछि नदीको बहाव र जलस्तरमा उतारचढाव आएपछि सुरक्षाका कारण र्याफ्टिङ रोकिएको थियो।
नदीको अवस्था सामान्य भएपछि जलपर्यटन व्यवसायीहरूले सेवा पुनः सञ्चालनमा ल्याएका हुन्।
र्याफ्टिङ सञ्चालन गर्नुअघि जलयात्रा विज्ञ, अनुभवी गाइड तथा प्राविधिकको टोलीले त्रिशूलीका प्रमुख र्याफ्टिङ रुटको स्थलगत अनुगमन गरेको थियो।
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज् (नारा) ले नदीको बहाव, धार र रुटमा आएको परिवर्तनबारे निरीक्षण गरेपछि सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।
बाढीपछि केही स्थानमा नयाँ 'र्यापिड्स' बनेका छन् भने केही पुराना धार परिवर्तन भएका छन्। तर अहिलेको नदीको अवस्था र्याफ्टिङका लागि सुरक्षित रहेको नाराले जनाएको छ।
पटक–पटक अध्ययन तथा निरीक्षण गरेपछि र्याफ्टिङ पुनः सञ्चालन गरिएको नाराका अध्यक्ष कमल ठकुरीले बताए।
'त्रिशूली नदीको गल्छीदेखि मुग्लिङसम्म खोलाको धारमा खासै परिवर्तन भएको छैन। त्यसैले ढुक्क भएर र्याफ्टिङ गर्न सकिन्छ,' उनले भने, 'हामीले अपनाउनुपर्ने सबै सेफ्टी प्रोटोकल अपनाएका छौं। बच्चादेखि वृद्धसम्म सबैले आएर मज्जाले र्याफ्टिङ गर्न सक्नुहुन्छ। नदी एकदमै सुरक्षित छ।'
नाराका पूर्वअध्यक्ष सूर्यप्रसाद जोशीले अहिलेको पानीको स्तर र बहाव साहसिक खेलप्रेमीका लागि अझ रोमाञ्चक बनेको बताए।
'हामीले रेकी ट्रिप गरेका थियौं। त्यसमा पूर्ण रूपमा सुरक्षित देखिएपछि व्यावसायिक रूपमा र्याफ्टिङ सुरु गर्ने निर्णय गरेका हौं,' उनले भने।
रिभर साइड स्पा एन्ड रिट्रिट तथा त्रिशूली रिभर साइड रिसोर्टका सञ्चालक उद्धव कँडेलले र्याफ्टिङ सुरू भएसँगै नदीमा आधारित पर्यटन व्यवसाय पनि चलायमान हुने विश्वास व्यक्त गरे।
'बाढीपछि यहाँको पर्यटन सुस्ताएको थियो। अब र्याफ्टिङ सुरु भएको छ। त्यसपछि पर्यटन पनि चलायमान हुन्छ भन्ने विश्वास लिएका छौं,' उनले भने।
नाराले र्याफ्टिङ सञ्चालन गर्दै आएका कम्पनीलाई सेवा पुनः सुरू गर्न आग्रह गरेको छ।
काठमाडौंबाट चितवन, पोखरा र लुम्बिनी जाने नेपाली तथा विदेशी पर्यटकले त्रिशूलीमा र्याफ्टिङ गर्न सक्छन्।
लामो समयदेखि रोकिएको र्याफ्टिङ सेवा पुनः सञ्चालन हुँदा यसमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा निर्भर व्यवसायी र श्रमिकलाई राहत पुग्ने जनाइएको छ।