यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा युवराज बिष्ट नियुक्त भएका छन्।
बिष्टसँग नेपालको हवाई उड्डयन क्षेत्रमा १७ वर्षभन्दा लामो अनुभव छ।
बिष्टले सन् २००९ मा यती एयरलाइन्सबाटै म्यानेजमेन्ट ट्रेनीका रूपमा आफ्नो व्यावसायिक यात्रा सुरू गरेका थिए।
त्यसयता उनले कम्पनीका विभिन्न व्यवस्थापकीय तथा व्यावसायिक जिम्मेवारी सम्हाल्दै अनुभव हासिल गरेका छन्।
यसअघि उनले यती एयरलाइन्सको प्रमुख व्यावसायिक अधिकृत (सिबिओ) तथा अकाउन्टेबल म्यानेजरका रूपमा काम गरिसकेका छन्।
कम्पनीको व्यावसायिक रणनीति, व्यवस्थापन, सञ्चालन तथा संस्थागत विकासमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए।
व्यवस्थापनमा स्नातकोत्तर (एमबिए) गरेका ४३ वर्षीय बिष्टले एयरलाइन्स व्यवसायको व्यावसायिक विकास, रणनीतिक योजना, संस्थागत व्यवस्थापन, सञ्चालन तथा कार्यसम्पादन व्यवस्थापनमा विशेष अनुभव हासिल गरेका छन्।
म्यानेजमेन्ट ट्रेनीका रूपमा यती एयरलाइन्समा प्रवेश गरेका बिष्टले सोही संस्थाको नेतृत्व तहसम्म पुग्नुलाई उनको लामो व्यावसायिक अनुभव, संस्थाप्रतिको प्रतिबद्धता र नेतृत्व क्षमताको उपलब्धिका रूपमा हेरिएको छ।
सिइओको जिम्मेवारीसँगै उनले अब एयरलाइन्सको समग्र रणनीतिक दिशा, व्यावसायिक विस्तार, संस्थागत सुशासन तथा आगामी विकास योजनाको नेतृत्व गर्ने कम्पनीको भनाइ छ।