चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन, हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल। प्रकृतिका यिनै अनुपम दृश्यले दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्य बनाएको छ।
अपी, नाम्पा, कापुचुली र बबई हिमालले घेरिएको यो क्षेत्र प्राकृतिक सुन्दरताका हिसाबले निकै मनमोहक छ। समुद्री सतहबाट सात हजार १३२ मिटर उचाइमा रहेको अपी हिमाल सुदूरपश्चिमकै अग्लो हिमाल हो। तीन हजार ९०० मिटर उचाइमा रहेको आधार शिविरबाट हिमशृङ्खलाको भव्य दृश्य नजिकैबाट नियाल्न सकिन्छ। विशाल पाटन, निला ताल, हिमनदीबाट बग्ने जलधारा र दुर्लभ वनस्पतिले यस क्षेत्रको सुन्दरता थपेका छन्।
यहाँ पुग्नु आफैँमा रोमाञ्चक यात्रा हो। मार्मा गाउँपालिका हुँदै मकरीगाडसम्म जीपमा पुगेपछि करिब दुई दिन पैदल हिँड्नुपर्छ। कठिन उकालो, भिरालो गोरेटो र नदी किनार हुँदै अघि बढ्दा हिमाली भूगोलका विभिन्न रूप देख्न पाइन्छ। लामो यात्रा पार गरेर आधार शिविर पुग्दा हिमालको मनमोहक दृश्यले यात्राको थकान बिर्साइदिन्छ।
कालीढुङ्गा, बयेली ताल, धर्मी तथा मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गमस्थल र फराकिला पाटन यस क्षेत्रका प्रमुख आकर्षण हुन्। प्राकृतिक सम्पदासँगै धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका स्थलले पनि यहाँको पर्यटकीय सम्भावना बढाएका छन्।
गर्मीयाममा रङ्गीचङ्गी फूलले ढाकिने पाटन पर्यटकका लागि मात्र होइन, स्थानीयको जीविकोपार्जनका लागि पनि महत्त्वपूर्ण छ। यहाँ यार्सागुम्बा, पाँचऔँले, पदमचाल, हत्वाजडी, बायुजडी र जटामसीलगायत बहुमूल्य जडीबुटी पाइन्छन्। भेडा, च्याङ्ग्रा र चौँरी चराउने परम्परागत थलोका रूपमा पनि यो क्षेत्र परिचित छ।
अपी हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा यस क्षेत्रलाई पर्यटन अर्थतन्त्रको बलियो आधार बनाउने योजनामा छन्। पर्यटकीय गतिविधि बढाउन सके स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना हुने उनको विश्वास छ।
सामुदायिक घरबास (होमस्टे), स्थानीय यातायात, पदयात्रा गाइड, भरिया, होटल तथा खानपान सेवामा स्थानीयको सहभागिता बढाउने तयारी गरिएको उनले बताए। यसका लागि आवश्यक जनशक्तिलाई पटकपटक तालिम दिइएको छ।
'हामीले पालिकाका धेरै जनालाई पर्यटन अर्थतन्त्र विस्तारमा स्थानीयको भूमिकाबारे विभिन्न क्षेत्रका जनशक्तिलाई तालिम दिएर तयार पारिसकेका छौं', अध्यक्ष बोहराले भने।
चालु आर्थिक वर्षमा आधार शिविर क्षेत्रमा १० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गाउँपालिकाको लक्ष्य छ। 'अहिलेको तयारीअनुसार अपेक्षित सङ्ख्यामा पर्यटक आउँछन् भन्ने विश्वास छ', उनले भने।
बोहराका अनुसार अहिले यहाँको मुख्य समस्या सञ्चार नेटवर्क र इन्टरनेटको हो। अन्य आवश्यक पूर्वाधार तयार भइसकेको उनको दाबी छ।
'यहाँका मानिसको मौलिकपन नै ठूलो सम्पत्ति हो। आउने पर्यटकले कुनै समस्या भोग्नुपर्दैन। अहिलेलाई पुग्ने आवश्यक काम गरिसकेका छौँ। थप आवश्यकताअनुसार पूर्वाधार थपिन्छ', उनले भने।
अपी हिमालको पहिचान प्राकृतिक सुन्दरतामा मात्र सीमित छैन। यहाँको वेशभूषा, रीतिरिवाज, लोकबाजा, देउडा र परम्परागत ज्ञान पनि उत्तिकै महत्त्वपूर्ण छन्। घुसास्थित गैरा इको रिसोर्टका सञ्चालक महादेव धामी स्थानीय संस्कृति जोगाउँदै पर्यटकलाई आतिथ्य प्रदान गर्न आफूहरू सक्रिय रहेको बताउँछन्। गाउँपालिकाबाट प्राप्त तालिमपछि पाहुनाको खानपान, आवास र स्वागत सत्कारमा सहज भएको उनको भनाइ छ।
गाउँपालिकाले मकरीगाडदेखि आधार शिविरसम्मका विभिन्न स्थानमा होमस्टे सञ्चालनको व्यवस्था मिलाएको छ। धनबोरा, घुसा, नाली, लामामाडौँ, आरूखोर, सिती, खायाकोट, छिरछिरे, सिमार, भल्याखोला र धौलीओडारमा पर्यटकका लागि आवास सुविधा उपलब्ध छ। त्यसपछि आधार शिविर क्षेत्रमा पुग्ने पर्यटकका लागि दैनिक ७० जनालाई पुग्ने स्थायी होटल तथा ठूला टेन्टको व्यवस्था गरिएको छ। आफ्नै टेन्ट बोकेर जाने पर्यटकलाई पनि बस्न असहज नहुने व्यवस्था मिलाइएको छ।
मकरीगाडदेखि आधार शिविरसम्म ३४ किलोमिटर दूरी छ। तीनदेखि पाँच किलोमिटरको अन्तरमा होमस्टे बनाइएकाले पदयात्रीलाई सहज भएको छ। स्थानीय मौलिकता र आत्मीय व्यवहार यहाँको आतिथ्यका विशेषता हुन्। होमस्टेमा फूलमालाले स्वागत गर्ने, सांस्कृतिक पहिचान झल्किने नाच देखाउने र स्थानीय परिकार खुवाउने चलन छ।
दोलखाको बिगु गाउँपालिकाकी उपाध्यक्ष देवकी थामीले यहाँको आतिथ्य सत्कारको प्रशंसा गरिन्।
'सुरुमै फूलमालाले स्वागत गरिन्छ। सांस्कृतिक पहिचान झल्किने गरी स्थानीय नाच प्रस्तुत हुन्छ। बास र खानपिनमा तारे होटलको कमी महसुस हुँदैन। त्योभन्दा मीठो यहाँका मानिसको बोली, व्यवहार हो। यही सम्पत्तिले पर्यटकलाई अपी हिमालतर्फ आकर्षित गर्छ', उनले भनिन्।
पर्यटनलाई संस्कृति संरक्षणसँग जोड्न सके मौलिक पहिचान नयाँ पुस्तासम्म पुर्याउन सकिने उनको विश्वास छ।
गाउँपालिकाको पर्यटन विभाग हेर्ने बिसन बुढाथोकीका अनुसार आधार शिविरसम्म भरपर्दो सञ्चार सेवा विस्तार, प्राथमिक उपचार सामग्रीको व्यवस्था, तालिमप्राप्त जनशक्ति परिचालन र आपत्कालीन उद्धार प्रणाली विकासको काम भइरहेको छ।
अपी हिमाल धार्मिक आस्थाको केन्द्र पनि हो। यहाँको फेदबाट उदाउने चमेलिया नदीलाई भगवान् शिवको शिरबाट बगेको गङ्गाको स्वरूप मान्ने जनविश्वास छ। खायाकोटका झलकसिंह लोथ्यालका अनुसार क्षेत्ती र घाजिरमा सुर्मा भवानीप्रतिको श्रद्धा, सुर्मा सरोवरको तीर्थ परम्परा तथा मार्कण्डेय र धर्मी गुफाले यस क्षेत्रको धार्मिक पहिचानलाई समृद्ध बनाएका छन्।
स्थानीय मन्दिरमा पनि शिवसँग जोडिएको धार्मिक विश्वासका कारण विशेष महत्त्व रहेको लोथ्याल बताउँछन्। उनका अनुसार अपी हिमाल प्रकृतिको उपहार मात्र नभई आस्थाको प्रतीक पनि हो।
हिमालको काखमा जलवायु सङ्कट
अपी हिमालको सुन्दरतासँगै यसको भविष्यप्रति चिन्ता पनि बढ्दै गएको छ। जलवायु परिवर्तनका कारण हिउँ पग्लिने क्रम तीव्र बनेको छ। पानीका मुहान सुक्न थालेका छन्। वर्षाको चक्रमा आएको फेरबदलले स्थानीयको परम्परागत जीविकोपार्जनमा असर पार्न थालेको छ।
एकातिर यस क्षेत्रलाई विश्व पर्यटनको नक्सामा स्थापित गर्ने अवसर छ भने अर्कोतिर जलवायु परिवर्तनले हिमाली पारिस्थितिक प्रणाली र स्थानीय जीवनमा जोखिम थपिरहेको छ। यही चुनौतीलाई ध्यानमा राख्दै गाउँपालिकाले पर्यटन प्रवर्द्धनसँगै वातावरण संरक्षणको अभियान पनि अघि बढाएको छ।
नेपाल हिमालय विश्वको तेस्रो ध्रुव (थर्ड पोल) का रूपमा चिनिन्छ। यहाँका हिमनदी, हिमताल, नदी, वन, घाँसेमैदान र सिमसारले दक्षिण एसियाका करोडौँ मानिसको जीवनलाई आधार दिएका छन्। तर विश्वव्यापी तापक्रम वृद्धिले हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्। हिमताल विस्फोटको जोखिम बढेको छ। पानीका मुहान सुक्ने, कृषि प्रणाली प्रभावित हुने र जैविक विविधता घट्ने समस्या देखिन थालेका छन्।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा वातावरणविद् डा. रमेशराज पन्तका अनुसार जलवायु परिवर्तनको प्रभाव अपी हिमालजस्ता उच्च हिमाली क्षेत्रमा देखिन थालेको छ। वर्षाको समय र स्वरूपमा परिवर्तन, अनियमित हिमपात तथा पानीका स्रोत सुक्ने समस्याले स्थानीयको जीवनशैली प्रभावित भएको उनले बताए।
यसको असर हिमालको हिउँमा मात्र सीमित छैन। स्थानीयको भान्सा, गोठ र खेतबारीसम्म पुगेको छ। भेडापालन, चौँरीपालन, कृषि र जडीबुटी सङ्कलनमा निर्भर परिवारका लागि बदलिँदो मौसम थप चुनौती बनेको पन्तको भनाइ छ।
उनका अनुसार जलवायु सङ्कटले सबैलाई समान असर गर्दैन। न्यून आर्थिक क्षमता भएका परिवार, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति बढी जोखिममा छन्। जलवायु परिवर्तनमा न्यून योगदान गर्ने हिमाली समुदायले नै यसको ठूलो मूल्य चुकाउनुपर्ने अवस्था देखिएको उनले बताए।
चमेलिया जलाधार संरक्षणको साझा जिम्मेवारी
करिब सात सयदेखि सात हजार १३२ मिटर उचाइसम्म फैलिएको चमेलिया जलाधार क्षेत्र भौगोलिक र पारिस्थितिक विविधताका दृष्टिले महत्त्वपूर्ण छ। वातावरणविद् पन्तका अनुसार उपलब्ध अध्ययनले यहाँको औसत तापक्रम सातदेखि १८ डिग्री सेल्सियस, वार्षिक वर्षा करिब एक हजार सात सय मिलिमिटर र औसत जलप्रवाह प्रतिसेकेन्ड १७७ घनमिटर देखाएको छ।
माथिल्लो र तल्लो तटीय क्षेत्रमा कृषि प्रणालीसहित विभिन्न क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव परेको उनको भनाइ छ। चमेलियाका शाखा नदीमध्ये रिठेगाडलगायत क्षेत्रमा पानीको गुणस्तर घट्दै गएको पनि अनुसन्धानले देखाएको छ।
सन् २०२५ को एक अध्ययनले महाकाली नदीको माथिल्लो र तल्लो तटीय क्षेत्र व्यवस्थापनका लागि चमेलिया जलाधारलाई उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिएको पन्तले बताए।
यी तथ्यले जलाधार संरक्षण कुनै एक पालिकाको मात्र जिम्मेवारी नभएको देखाउँछन्। यसका लागि अन्तरपालिका, प्रदेश र संघीय सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
नदी, शाखा नदी, पानीका मुहान, वनजङ्गल, चरन क्षेत्र र जैविक विविधताको एकीकृत व्यवस्थापन गर्नुपर्ने देखिन्छ। सुक्दै गएका पानीका स्रोत पुनर्जीवन, भूजल पुनर्भरण र वर्षाको पानी सङ्कलनसँगै समुदायमा आधारित पानी सुरक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने भूगर्भविद् कमल थापा बताउँछन्।
अपी नाम्पा संरक्षण क्षेत्र दुर्लभ वन्यजन्तु र वनस्पतिको आश्रयस्थल पनि हो। यहाँ रेडपाण्डा, हिउँ चितुवा, कस्तुरी र डाँफेजस्ता प्रजाति पाइन्छन्। विभिन्न प्रकारका बहुमूल्य जडीबुटी पनि यहाँ उपलब्ध छन्। जलवायु परिवर्तन, प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग र मानवीय गतिविधिले यी सम्पदाको अस्तित्वमा चुनौती थपिरहेको थापाले बताए।
हिमालको भविष्य जोगाउने साझा संकल्प
अपी हिमालमा पर्यटनको ठूलो सम्भावना छ। प्राकृतिक सुन्दरता, जैविक विविधता, संस्कृति र हिमाली जीवनशैलीलाई व्यवस्थित रूपमा पर्यटनसँग जोड्न सके यो क्षेत्र नेपालको महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने भूगर्भविद् थापाको भनाइ छ।
तर प्रकृति जोगिएन भने पर्यटनको भविष्य पनि सुरक्षित हुँदैन। त्यसैले विकासलाई सडक, होटल र पर्यटकको सङ्ख्यामा मात्र सीमित गर्न नहुने उनी बताउँछन्।
'हिमाल, जलस्रोत, जैविक विविधता र स्थानीय समुदायको जीवनशैली संरक्षणलाई विकासको केन्द्रमा राख्नुपर्छ', उनले भने।
आधार शिविरबाट उठेको जलवायु संवादले हिमाली सङ्कट स्थानीय समुदायको मात्र समस्या नभएको सन्देश दिएको छ। हिमालमा परेको असर नदी हुँदै बस्ती, खेतबारी र मानव जीवनसम्म पुग्ने भएकाले यसको संरक्षणमा स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य आवश्यक रहेको थापाको भनाइ छ।
हिमालबाट उठेको जलवायु न्यायको आवाज
आधार शिविर क्षेत्रमा अपी हिमाल गाउँपालिकाले आयोजना गरेको अपी हिमाल पर्यटन उत्सव तथा जलवायु संवादमा अपी हिमाल घोषणापत्र–२०८३ जारी गरिएको छ। चमेलिया नदी तटीय क्षेत्रका पालिकाबीच सहकार्य सुदृढ गर्दै हिमाली प्रकृति, जलवायु न्याय र दिगो विकासका लागि साझा प्रतिबद्धता जनाउनु घोषणापत्रको मुख्य उद्देश्य हो।
घोषणापत्रमा जैविक विविधता संरक्षण, पारिस्थितिकीय पुनर्स्थापना, प्राकृतिक स्रोतको दिगो उपयोग, स्थानीय ज्ञान र संस्कृतिको प्रवर्द्धन, जलवायु उत्थानशील जीविकोपार्जन, दिगो पर्यटन तथा अनुसन्धान र नवप्रवर्तनलगायत १७ विषय समेटिएका छन्।
यसले हिमाली क्षेत्रका समस्या स्थानीय सीमाभित्र मात्र सीमित नरहेको सन्देश दिएको छ। घोषणापत्रले वन, भूमि, पानी, जडीबुटी र चरन क्षेत्रको वैज्ञानिक तथा न्यायोचित उपयोगमा जोड दिएको छ। परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग जोडेर जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
महिला, युवा, किसान र सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर हरित रोजगारी, जैविक खेती, जडीबुटी उद्यम तथा नवीकरणीय ऊर्जामा आधारित अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ।
त्यसैगरी हिमाली पदमार्गलाई वातावरणमैत्री बनाउने, प्लास्टिक तथा ठोस फोहोर नियन्त्रण गर्ने, हिमनदी र ताल जोगाउने तथा पानीका मुहान पुनर्जीवन गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ।
पर्यटन, खेलकुद र अन्तर्राष्ट्रिय पहिचान
अपी हिमाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनाउने अर्को आधार उच्च हिमाली खेलकुद पनि हो। गाउँपालिकाको आयोजनामा यहाँ मैत्रीपूर्ण क्रिकेट र भलिबल प्रतियोगिता सम्पन्न भएका छन्।
उच्च उचाइमा खेलकुद आयोजना गर्न सके स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटनसँगै खेल पर्यटनको विकास र क्षेत्रीय पहिचान विस्तारमा सहयोग पुग्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर विष्टले बताए।
प्राकृतिक सुन्दरता र उच्च हिमाली वातावरणलाई पर्यटन तथा खेलकुदसँग जोड्न सके अपी हिमाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बन्न सक्ने उनको विश्वास छ।
प्रकृतिले दिएको सम्पदा जोगाउँदै स्थानीय संस्कृति र जीविकोपार्जनलाई पर्यटनसँग जोड्नु अपी हिमालको सपना रहेको विष्टले बताए। उनका अनुसार हिमाललाई पर्यटकीय आकर्षणका रूपमा मात्र नभई जीवन, सभ्यता, जलस्रोत र जैविक विविधताको आधारका रूपमा बुझ्न आवश्यक छ।