प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो चेतावनी दिएका हुन्।
संविधान सभामै उल्लेख भइसकेका र आत्मसात् गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको उनले बताए।
परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको भन्दै सबै सजग रहन पनि प्रधानमन्त्री प्रचण्डले आग्रह गरे।
अहिले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागे पनि स्थिति सहज नरहेको उनको जिकिर छ। जिम्मेवारी बोध गरी संघर्ष नगर्ने हो भने अफ्ठ्यारो स्थिति आउनसक्ने प्रधानमन्त्रीले बताए।
प्रधानमन्त्री दाहालले सरकारलाई जनमुखी बनाउने, जनताको आशाअनुसार काम गर्ने चुनौती रहेकाले योजनाहरूको कार्यान्वयन गर्दै जानुपर्ने बताए।
‘अहिले हामी सरकारको नेतृत्वमा छौं, मन्त्री छौं, प्रधानमन्त्री छौं, त्यसकारण उल्टिँदैन होलाजस्तो लाग्न पनि सक्छ, मैले सबै कमरेडहरुलाई बुझिने गरी भन्न चाहन्छु, यो स्थिति सहज छैन। हामीले बुद्धि नपुर्याउने, जिम्मेवारीबोध नगर्ने हो, संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्छ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘त्यसकारण पनि पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइमा उठाउन जरूरी छ। सरकारलाई जनमुखी बनाउने, जनताको आशा अनुसार काम गर्ने चुनौती छ। त्यसैले योजनावद्ध गर्नेकुरा सोचिएको हो। यसलाई कार्यान्वयन गर्दै जानुपर्छ।’
प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा नेकपा (माओवादी केन्द्र) ले नेताहरूको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताए। नेतृत्वलाई दबाब दिएर नेतृत्व पाउने प्रणालीको अन्त्य नगरेसम्म पार्टी बन्न नसक्ने उनको भनाइ छ। उनले पार्टी जनतामा नजानु भनेको नेताहरूको सहयोगमा नेतृत्व लिने प्रणाली हाबी हुनु भएको बताए।
‘अब नेताहरूको समर्थन लिएर नेताको सहयोगले नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्छ, नेतृत्वलाई प्रेसर गर्ने, त्यसपछि हामी पनि त्यस्तै भइयो। यसले पार्टी बनेन। जनतातिर गएन, पार्टी तल गएन, माथि फर्कियो, यसले पार्टी जनताबाट कट्यो। कार्यकर्ताको मन जित्ने नै नेता हुने प्रणालीतिर जानुपर्छ,’ उनले भने।