जानकारीबिनै त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र अन्यत्र ताेकेकाे भन्दै कञ्चनपुरकाे कञ्चन बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित भएका छन्।
कृष्णपुर नगरपालिका-५ काे गुलरियास्थित उक्त क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित भएका हुन्।
बिए, बिएड र बिबिएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयले आफ्नो निर्णय सच्याउनु पर्ने माग राखेका छन्।
शनिबार स्वतन्त्र विद्यार्थी युनियन संगठनले प्रेस विज्ञप्ति निकाल्दै परीक्षा केन्द्र कञ्चन बहुमुखी क्याम्पसमा हुनुपर्ने नभए परीक्षा बहिष्कार गरेर आन्दोलनका कार्यक्रम घाेषणा गरेकाे छ।
यस्तै, नेविसंघले साेही माग राख्दै आन्दोलनका कार्यक्रम घाेषणा गरेकाे हाे।
शनिबार उनीहरूले पूर्व-पश्चिम राजमार्ग केहीबेर बन्द गरेका थिए।
एक्कासि परीक्षा केन्द्र धनगढी, महेन्द्रनगरलगायत फरक-फरक ठाउँमा ताेक्दा समस्या हुने हुँदा त्रिविकाे याे निर्णयविरूद्ध आन्दोलन गरिरहेकाे स्वतन्त्र विद्यार्थी युनियनका सभापति देवबहादुर साउदले बताए।
यस्तो अन्यत्र परीक्षा दिन यातायातकाे समस्या, बस्नेको समस्या हुने हुँदा आफ्नो क्याम्पसमै परीक्षा ताेक्नुपर्ने विद्यार्थी ललिता पाण्डेले बताइन्।
कञ्चन बहुमुखी क्याम्पसमा २०६२ सालमा स्थापना भएको हाे। स्थापना भएयता २०७२ सालदेखि परीक्षा साेही क्याम्पसमा हुँदै आएकाे थियाे। यसपटक भने त्रिविले परीक्षा केन्द्र धनगढी र झलारी ताेकेपछि विद्यार्थीले विराेध गरेकाे स्ववियु सभापति साउदले बताए।
उनीहरूकाे परीक्षा वैशाख ४ गते दिउँसो १२ बजेदेखि सुरू हुँदैछ।





