लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सिंगो मिडिया क्षेत्र राष्ट्रियताको पक्षमा नरहेको बताएका छन्।
मुलुकमा विदेशी हस्तक्षेप बढेको र राष्ट्रियता संकटमा परिरहेका बेला मिडिया क्षेत्र पनि राष्ट्रियताको पक्षमा नरहेको बताएका हुन्।
प्रेस चौतारी नेपाल रूपन्देहीको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले प्रेस चौतारीमा आबद्ध सदस्यहरूले राष्ट्रियताको पक्षमा सशक्त आवाज उठाउनुपर्ने बताए।
‘अहिले सिंगो मिडिया क्षेत्र राष्ट्रियता पक्षमा छैन, प्रेस चौतारीका सदस्यहरूले राष्ट्रियताको पक्षमा कलम चलाउने गर्नुस्,’ मुख्यमन्त्री गिरीले भने।
मुख्यमन्त्री गिरीले देशको राष्ट्रियता गुम्ने खतरा रहेको औंल्याउँदै मिडियाले राष्ट्रियताको पक्षमा दह्रो वकालत गरेर जनमत बनाउनुपर्ने बताए।
नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा कामको समेत मिडियाले प्रचार नगरेको मुख्यमन्त्री गिरीको गुनासो थियो।
उनले राजनीतिलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेहरूका कारण देश अस्थिरतातर्फ धकेलिएको बताए।
अर्काको स्वार्थ बोकेर आफ्नो स्वार्थ पूरा गर्नेहरूका कारण मुलुकमा अस्थिरता बढेको र त्यसबाट सीमित समूहले फाइदा उठाउन थालेको उनले बताए। बामपन्थी दलहरू विभाजित हुँदा राष्ट्रियता कमजोर भएको र केही दलहरू वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थपूर्तिमा लागेको उनको भनाइ छ।
मुलुकमा अस्थिरता निम्त्याउनेहरूले संघीयताविरोधी अभियान चलाउन थालेको समेत मुख्यमन्त्री गिरीले बताए।
‘अहिले संघीयता विरोधी शक्ति चल्मलाउन थालेको छ, संघीयता चाहिँदैन, प्रदेश आवश्यक छैन भन्नेहरू बढ्दै गएका छन्, उनीहरूले मुलुकमा अस्थिरता बढाउन चाहन्छन्,’ मुख्यमन्त्री गिरीले भने।
मुख्यमन्त्री गिरीले संघीयता विरोधी र अस्थिरता निम्त्याउनेहरूलाई मलजल हुनेगरी गतिविधि नगर्न पनि आग्रह गरे।
गिरीले सरकारले गरेका राम्रा कामलाई प्रोत्साहन र नराम्रा कामको भण्डाफोर गर्न पनि आग्रह गरे।
मुख्यमन्त्री गिरीले पत्रकारको क्षमता वृद्धि, पेशागत हक हित र सामाजिक सुरक्षाका लागि केही काम गरे पनि राजनीतिक अस्थिरता र देशको आर्थिक अवस्थाका कारण सोचेजस्तो गर्न नसकिएको बताए।