सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘पुरानो जति सडे/गलेको र नयाँ जति राम्रो’ भन्ने भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका छन्।
उनले भने, ‘मेरो खाली तपाईंहरूलाई यति मात्रै आग्रह हो–कि अहिले पुरानो जति सडेगलेको, नयाँ जति राम्रो भन्ने भ्रमपूर्ण नाराका साथमा जुन खालको गिजोल्ने प्रयास नेपालको राजनीति र नेपाली समाजमा भइरहेको छ। त्यसको प्रभाव मकवानपुर कांग्रेसलाई नपरोस्। त्यसको प्रभाव नपर्नका निम्ति हाम्रा बीचमा भएका बेमेलहरूलाई हटाएर सबै वडा सम्मेलनहरु गर्नु पर्यो। प्रदेश सम्मेलन गर्नु पर्यो। क्षेत्रीय सम्मेलन गर्नु पर्यो। जिल्ला सम्मेलन गर्नु पर्यो भ्रातृ संस्था सबैलाई सम्मेलन गरेर सबैलाई सुदृढ बनाएर पार्टीभित्र बन्द कोठामा बसेर, छलफल गरेर बाहिरका मानिसहरूलाई हाम्रो पार्टीमा खेल्न नदिनका लागि हाम्रो पार्टीलाई सुदृढ बनाएर, एक ढिक्का बनाउनु पर्छ।’
यस्तै उनले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन्।
महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोेचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन्।
नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे।
महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराए।
सरकारले राम्रो काम गर्दै गए ३/४ महिनाभित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ थियो।
महामन्त्री थापाले भने,‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस्। चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस्। चाहे त्यो देशमन्त्री, प्रधानमन्त्री होस्। उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ। संकटको बेला छ। युद्धको बेलामा जस्तो सोच्ने हुनु पर्दछ। उसलाई भ्याइनभ्याइ हुनु पर्दछ। त्यो अप्ठ्यारो उसले महसुस गर्न सक्नु पर्दछ। अनि मात्रै परिणाम दिन सकिन्छ। यो सरकारमा बस्ने साथीहरूले गर्ने काम हो। हामी अहिले सरकारमा छौं।’
उनले अगाडि भने, ‘कांग्रेस सरकारमा छ। तपाईं हामी सबैले मेहनत गरेर निर्वाचित भएर प्रदेशको सरकारमा, संघको सरकारमा पुगेका छौं। यहाँ बसेर हामीले परिणाम दिने हो। यसमा हामीले ठिक ढंगले काम गर्न सक्यौं भने अबको ३/४ महिना भित्रमा फेरि देशमा सबै कुरा सम्हाल्न नसकिने भएको पनि होइन। स्थिति ठिक छैन, असहज छ। राम्रोसँग सम्हालेनौं भने बिग्रँदै जान्छ। ठिक ढंगले सुझबुझपूर्ण ढंगले सम्हाल्दै गयौं भने फेरी सम्हालिँदै जान्छ।’
महामन्त्री थापाले २०८० सालमा नेपाली कांग्रेसलाई शुद्धीकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने पनि बताए।
उनले २०८० सालको जेष्ठ अन्तिम साता नेपाली कांग्रेसको नीति अधिवेशन हुने तयारी भइरहेको उल्लेख गर्दै त्यसमा पार्टीको सुदृढीकरण र शुद्धीकरणका लागि व्यापक छलफल गर्न पनि पार्टीका नेता, कार्यकर्ताहरूलाई आग्रह गरे।
उनले थपे, ‘२०८० साललाई निर्वाचन प्रणालीमा सुधारका लागि बहस सुरू गरौं। हामी जेठको अन्तिम सात दिन कांग्रेसको नीति सम्मेलन गर्ने तयारी गर्दैछौं। त्यसमा व्यापक रूपमा छलफल गरौं। र, यो साललाई कांग्रेसको शुद्धीकरण र कांग्रेसको सुदृढीकरणको लागि प्रयोग गरौं।’
महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिए।