नेकपा (एमाले) का सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्ष प्रायश्चित्तमा बिताउने पर्ने बताएका छन्।
वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा चितवन-२ मा उम्मेदवार बनेका लामिछानेले नागरिकताको विषयमा समाज, राज्य र कानुनलाई ढाँटेको भट्टराईको दाबी छ।
प्रेस चौतारी चितवनले आइतबार गरको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले लामिछाने अब भर्जिन वा अर्गानिक उम्मेदवार नरहेको बताए।
‘छोटो समयमै हामीलाई भन्दा बढी प्रश्न उहाँलाई तेर्सिएका छन्। उहाँले दिएका भ्रष्टाचारविरूद्धका सुशासनका नारा बेकार कुरा हुन्। उहाँको व्यक्तिगत जिन्दगीका कुरा के हुन् सबैले देखेका छन्। पार्टीका सांसदले घुस मागेको अडिओ काण्ड आइरहेका छन्,’ भट्टराईले भने,‘सभ्य समाजमा मान्छेले गल्ती गर्न सक्छ र गल्तीको माफी हुन्छ। तर समाजलाई ढाँट्ने कुरा अक्षम्य हुन्छ। रवि लामिछानेले गल्ती गरेको होइन ढाँटेको हो। समाज, राज्य, कानुलाई ढाँटेको हो। समाजलाई ढाँटेकोमा पाँच वर्ष प्रायश्चित गरेर बस्नुपर्ने मान्छे उहाँ फेरि कोशिश गर्दै हुनुहुन्छ।’
लामिछानेलाई नेता मानेर हामीले कस्तो राजनीतिकर्मीलाई अघि बढाउन खोजेको हो भन्ने बहस होस् आफ्नो चाहना रहेको भट्टराईले बताए।
अडिओ काण्डमा सांसदलाई कारबाही गर्यौं भन्ने रास्वपाले पूराना पार्टीका नेताहरू भ्रष्टाचार मुद्दामा जेल गएका छन् भन्ने पढ्न जरूरी रहेको उनको तर्क छ।
लामिछानेले इमोसनल ब्ल्याकमेल गरेर राजनीति गर्न खोजेको भट्टराईको आरोप छ।
‘राजनीति प्रतिस्पर्धा हो, इमोसनल ब्ल्याक मेल गर्ने विषय होइन। इमोसनल ब्ल्याकमेल गर्ने हो भने उपन्यास लेख्ने हो,’ उनले भने।
मंसिर ४ को अनुभवबाट शिक्षा लिँदै यसपालि चितवनमा एमाले पूर्ण रूपमा एकतावद्ध भएर लागेको पनि भट्टराईले बताए।
मुलुक संकटग्रस्त अवस्थामा रहेकाले ठूला दलहरूलाई बाइपास गरेर समस्याको निकास हुन नसक्ने भट्टराईको भनाइ छ।