नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदबाट हराएको टिप्पणी गरेका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री दाहाल संसदमा नआएकोमा व्यंग्य गरेका हुन्।
उनले प्रहरीले नागरिक हराएको बेला सूचना जारी गरेजसरी प्रधानमन्त्री दाहाल हराएको भन्दै कसैले भेटेमा संसद भवन नयाँ बानेश्वरमा बुझाउन पनि भने।
प्रधानमन्त्री दाहाल संसदमा आउनै छाडेकाले सो सूचना जारी गर्नुपरेको उनको भनाइ छ।
‘सभामुख महोदय, नागरिकको नाम श्री पुष्पकमल दाहाल। चलनचल्तीको नाम प्रचण्ड। अस्थायी ठेगाना कहिले खुमलटार, कहिले बालुवाटार। हुलिया। पहिलेपहिले कोट पेन्ट लगाउने गरे पनि हाल दौरा, सुरूवाल र टोपी पनि लगाउने, उमेर ६५ नाघेको, ७० नपुगेको जस्तो देखिने। उहाँ केही दिन अघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नु हुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाई दिनुहोला। उहाँ अन्तिम पटक देखिएका स्थान बालुवाटारको छेउछाउ,’ सांसद पन्तले भने।