आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन्।
आगामी वैशाख १० गते बारा-२ , तनहुँ-१ र चितवन-२ मा उपनिर्वाचन हुँदैछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सिफारिसमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीज्यूको पत्रको आधारमा वैशाख १० गते हुने उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गर्नु भएको छ।’
गत मंसिर ४ को चुनावमा तनहुँ-१ बाट तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल, चितवन- २ बाट रास्वपा सभापति रवि लामिछाने र बारा- २ बाट तत्कालीन जसपा नेता रामसहायप्रसाद यादव प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
पौडेल गत फागुन २५ मा राष्ट्रपति र यादव चैत ३ मा उपराष्ट्रपति बनेका थिए भने लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चले उनको पद बदर गरिएको थियो।
वैशाख १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म यी तीन क्षेत्रमा मतदान हुनेछ।
