नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले केही दिनभित्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका बीचमा मोर्चा बन्ने बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक चौधरीले १५ दिनभित्रमा नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका बीचमा मोर्चा बन्ने बताएका हुन्।
उनले मोर्चाले सकारात्मक रूप लिएमा पार्टी एकतासम्म हुने सम्भावना रहेको बताए। उनले आफूहरू पार्टी निर्माण र पार्टी एकताको अभियानमा लागिरहेको उल्लेख गरे।
उनले भने, ‘अब हामी १०/१५ दिन भित्रै नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जसपाको बीचमा मोर्चा बनाउँदैछौं। सकारात्मक रूप लियो भने यो एकतासम्म जानसक्ने सम्भावना छ। त्यो ठाउँमा हामी पुगेका छौं। अहिलेसम्म हामी सरकार निर्माणमा लागेका थियौं। अब पार्टी एकता, पार्टी निर्माण गर्ने अभियानमा छौं।’