नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवन-२ वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा लोकरिझ्याइँको राजनीति गर्नेलाई नभई अहिलेको प्रणालीमार्फत् देशका समस्याको समाधान गर्ने व्यक्तिले जित्नुपर्ने बताएका छन्।
चितवन-२ का कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको चुनावी प्रचारका लागि चितवन पुगेका महामन्त्री थापाले सोमबार कालिकामा आयोजित कोणसभामा सम्बोधन गर्दै चितवन-२ को मतपरिणामले राष्ट्रिय राजनीतिको अहिलेको समिकरणमा कुनै असर नपार्ने भए पनि त्यसले एउटा सन्देश भने दिने बताए।
उनले भने- तपाईंहरूसँग कांग्रेसका सभापतिसँग प्रश्न होलान्, मसँग प्रश्न होलान्। कांग्रेसका नीतिमा पनि प्रश्न होलान्। म सब ठिकठाक छ भन्दिनँ, कांग्रेसलाई नयाँ बनाउनु पर्नेछ, फेर्नुपर्नेछ। जितनारायण श्रेष्ठ सांसद चुनिएर गएपछि हामीसँग मिलेर कांग्रेस सुधारको अभियानमा लाग्नुहुन्छ।
महामन्त्री थापाले जितनारायण श्रेष्ठलाई संसदमा पठाउँदा चितवनका जनताले केही पनि नगुमाउने बताए।
‘देशको अवस्था ठिक छैन, बिरामी छ। यसलाई निको बनाएर अघि बढ्ने हो त्यसका लागि प्रश्न गर्नुपर्ने ठाउँमा प्रश्न गर्ने हो, मद्दत गर्नुपर्ने ठाउँमा मद्दत गर्ने हो,’ थापाले भने,‘तर लोकरिझ्याइँको राजनीतिबाट प्रभावित भएर सिंगो प्रणालीमाथि र हामीले गरेको परिवर्तनमाथि प्रश्न उठ्ने अवस्था आउन दिनुभयो भने त्यसको मूल्य हामी सबैले चुकाउनु पर्छ।’
उनले बाहिर बाहिर कांग्रेस भनेर भित्रभित्रै तलमाथि गर्नेको हिसाब रहने पनि बताए।
‘पार्टीभित्र समस्या छन् तर अहिले पार्टी चुनावी मैदानमा छ। यस्तो बेला तपाईंहरूले बाहिर बाहिर रूख भन्ने भित्रभित्रै तलमाथि गर्ने होइन,’ थापाले भने,‘अरूलाई थाहा नभए पनि तपाईंभित्रको हरि (भगवान) लाई त्यो कुरा थाहा हुन्छ। त्यसको हिसाब हुन्छ।
सोही क्षेत्रबाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले लोकतान्त्रिक आन्दोलनमा चितवनको आफ्नै विरासत भएकाले कुनै व्यक्ति वा प्रवृत्तिको परीक्षण गर्ने ठाउँ चितवनलाई बनाउन नहुने तर्क गरे।