प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकार भ्रष्टाचारविरूद्ध दृढतापूर्वक लागि परेको बताएका छन्।
बालुवाटारमा पार्टी पदाधिकारीहरूलाई बोलाएर राय-सुझाव लिने क्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरूद्ध सरकार सशक्त रूपमा प्रस्तुत भएको बताएका हुन्।
'प्रधानमन्त्रीज्यूले आज नीति तथा कार्यक्रमबारे सुझाव लिन पदाधिकारीलाई बोलाउनुभएको थियो,’ सचिव देवेन्द्र पौडेलले सेतोपाटीसँग भने, 'राय-सुझाव दिने क्रममा पदाधिकारीहरूले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणविरूद्ध सरकार कठोर भएकामा सबैले प्रशंसा गर्नुभयो। राजनीतिक पूर्वाग्रह नदेखियोस्, दोषी नउम्किने गरी अनुसन्धान हुनुपर्छ भन्ने नै राय थियो। ज्वाफमा प्रधानमन्त्रीले सुशासनको सवालमा खरो उत्रिने बताउनुभयो।'
नीति कार्यक्रमको सवालमा प्रधानमन्त्री प्रचण्डले पदाधिकारीसँग लिखित सुझाव मागेको उनले जानकारी दिए।
'मन्त्रालयले बनाउने नियमित कार्यक्रम त छँदैछ, यसपटक नागरिकसँग जोडिने र सरकारको पोलिसी सिफ्ट हुनेगरी बजेट तर्जुमा गर्नुपर्ने छ। लिखितै सुझाव दिनुहोला भनेर भन्नुभएको छ,' पौडेलको भनाइ थियो।
त्यस्तै आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउनेबारे पनि छलफल भएको पौडेलको भनाइ छ।
'रास्वपालाई सरकारमा सहभागी गराउँदा नै गठबन्धन एक ढिक्का रहेको सन्देश जान्छ। सरकारको कार्यक्रम झन् प्रभावकारी बन्छ। त्यसमा प्रधानमन्त्रीको पहल रहोस् भन्ने नै जोड थियो,' पौडेलले भने।
यसैगरी आजको अनौपचारिक बैठकमा समाजवादी पार्टीहरूबीच एकताको प्रसंग पनि उठेको उनले बताए। तर ठोस कुराकानी नभएको र बैठक मूलतः नीति कार्यक्रम, बजेटमा नै केन्द्रित रहेको उनले बताए।