नेपाली कांग्रेसले नीति अधिवेशनको तयारी सुरू गरेको छ। २०७८ मंसिरमा १४ औं महाधिवेशन गर्दा कांग्रेसले नेतृत्व मात्रै चयन गरेको थियो। छ महिनाभित्र नीति अधिवेशन गर्ने भने पनि डेढ वर्षपछि बल्ल कांग्रेसले अधिवेशन तयारी थालेको छ। अब बस्ने केन्द्रीय समिति बैठकले नीति अधिवेशन मिति तय गर्ने सम्भावना छ।
तर पार्टी रूपान्तरणका लागि नीति अधिवेशनले मात्रै नपुग्ने युवा नेताहरूले बताएका छन्। पार्टीका शीर्ष नेताहरूको कार्यशैली उस्तै रहिरहने देखिएकोले नीति अधिवेशनले पार्टीलाई थप चलायमान बनाउन नसक्ने उनीहरूको भनाइ छ।
केन्द्रीय सदस्य मधु आचार्य, नेताहरू गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्णलगायतले 'कांग्रेस सुदृढीकरण अभियान' नै चलाउने बताएका छन्। यसका लागि देश दौडाहा गर्ने तयारीमा उनीहरू छन्।
काठमाडौंको बत्तिसपुतलीमा बिहीबार उनीहरूले भेलासमेत गरे। भेलामा बोलेका अधिकांशले पार्टी सुधारको बाटोमा लाग्नुपर्ने र त्यसका लागि ढिला गर्न नहुनेमा जोड दिएका छन्। पार्टीको संरचनामै आमुल परिवर्तन जरूरी रहेको नेताहरूको भनाइ थियो।
नेता गुरूराज घिमिरेले पार्टीभित्र आमुल परिवर्तन र सुधार आवश्यक रहेको बताए।
‘पार्टीभित्र अब परिवर्तन आवश्यक भइसक्यो। हरेक युवा कार्यकर्ताले मनको आगोलाई राँको बनाउने बेला भएको छ,’ उनले भने। पार्टीभित्र असल मानिस सक्रिय नहुँदा खराबहरूबाट नेतृत्व भइरहेको घिमिरेको दाबी थियो।
उनले १४ औं महाधिवेशनमा पार्टी रूपान्तरणका लागि कोसिस गरे पनि असफल भइएको पनि बताएका थिए।
‘नेतृत्वमा आशिंक रूपमा भने हामी रूपान्तरण गर्न सफल भएको मान्नुपर्छ,’ उनले भने, ‘नेतृत्वमा युवा पुगेर मात्र हुँदैन रहेछ, पार्टीले लिने नीतिसमेत सही हुनुपर्ने रहेछ।’
अर्का नेता भूपेन्द्रजंग शाहीले कांग्रेस समयअनुसार अघि नबढेको र जनमुखी काम नगरेकोमा जनता रिसाएको र विकल्प खोजिरहेकोले पार्टी रूपान्तरणमा ढिला गर्न नहुने बताए।
‘सत्ताको स्वाद लिइरहेकालाई लाग्न सक्छ- पार्टी सही गतिमै चलिरहेको छ। तर त्यस्तो होइन,’ उनले भने, ‘जनताले विकल्प खोज्न थालिसके, आमचुनाव र उपचुनावमा यसको संकेत देखा परिसक्यो।’
कांग्रेसले युवाहरूलाई आकर्षित गर्न नसकेको उनको भनाइ थियो।
‘कांग्रेसमाथि कालो बादल मडारिएको छ। उपचुनावले नेतृत्वमा यो चेत पनि दियो होला,’ उनले भने।
पार्टीका विभाग र भ्रातृ संस्था रित्तै राखेर कांग्रेस चुनावमा होमिएकोले उपलब्धि हासिल गर्न नसकेको पनि उनको भनाइ थियो। ‘नेविसंघ कोमामा, तरूण दल भेन्टिलेटरमा राखेर चुनाव जितिन्छ? कांग्रेसले आफ्नै संरचना चिन्न सकेन, परिचालन गर्न सकेन,’ उनले भने।
कांग्रेसका मन्त्रीको सूची हेर्दा पनि सक्षमलाई अवसर नदिइएको देखिएको उनी बताउँछन्। ‘मन्त्री कसलाई बनाएको? आफ्नैलाई?,’ उनले भने, ‘यसरी रूपान्तरण हुन्छ? सक्षमलाई बनाउनुपर्दैन?’