कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताएका छन्।
शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले नेता बचाउने भन्दा पनि जनता बचाउने कुरा ठूलो रहेको बताएका हुन्।
‘अहिलेको मन्त्रिपरिषदको मुख्य कार्यभार सुशासन हो। सरकार त्यही अनुरूप अघि बढेको छ,’ उनले भने।
भुटानी शरणार्थीमा महाअपराध भएको भन्दै उनले यो सामान्य घटना नभएको बताए। उनले घटनामा संलग्न जो सुकै भए पनि कानुनी दायरामा ल्याइने उनको भनाइ छ।
‘भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिंग, क्षेत्र, राजनीति पार्टी हुँदैन भन्ने मान्यता स्थापना गर्न र सुशासन स्थापनाका लागि अहिलेको सरकार लागेको छ,’ उनले भने।
शरणार्थीको विषयमा दबाब आइरहेको बताउँदै उनले भने, ‘जति सुकै दबाब आए पनि सुशासन स्थापना गर्ने बाटोमा सरकार अग्रसर हुनेछ।’
नेपाली कांग्रेसका उपसभापति समेत रहेका उनले भ्रष्टाचारको मुद्दामा नेताहरू मुछिएको घटनाबारे पार्टीभित्र छलफल भइरहेको जानकारी दिए। नेपाली कांग्रेसको चाहना निष्पक्ष र स्वतन्त्र ढंगबाट छानबिनमा होस भन्ने रहेको उनको भनाइ छ। छानविनका लागि सहयोग गर्नुपर्छ भन्ने कुरा पार्टीभित्र भएको उनले जानकारी दिए।
अपराधीले उन्मुक्ति पाउनु हुँदैन भन्नेमा सरकार र पार्टी रहेको भन्दै उनले भ्रष्टचारमा मुछिएकालाई निलम्बन गर्नुपर्ने विषयमा पार्टीभित्र छलफल नभएको बताए।