प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सांसदहरूले प्रश्नोत्तर गर्दैछन्।
सांसदहरूले प्रधानमन्त्री प्रचण्डसँग मुलुकमा उठेका समसामयिक विविध विषयमा आधारित रहेर प्रश्न गर्न लागेका हुन्।
प्रतिनिधि सभाका बुधबारसम्म २० जना सांसदले प्रश्नबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको संसद् सचिवालयले जानकारी गराएको छ।
प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ को नियम ५६ (५) भएको व्यवस्थाअनुसार आजको बैठकमा १५ जना सांसदले प्रश्न गर्न पाउने छन्।
प्रतिनिधि सभाको नियमावलीमा महिनाको एक पटक प्रश्नोत्तर गर्ने सक्ने व्यवस्था उल्लेख भए पनि मौजुदा संसद्मा पहिलोपटक प्रश्नोत्तर हुन लागेको हो।
१५ जना सांसदमध्ये सत्ता साझेदार दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का ३/३जनाले सांसदले प्रश्न गर्न पाउने छन्। अहिलेसम्म सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीका भने १/१ जना सांसदले प्रश्न गर्नेछन्।
कांग्रेसबाट ईश्वर न्यौपाने, दिलेन्द्र बडु, रामहरि खतिवडा, दीपक गिरीले नाम टिपाएका छन्। त्यसमध्ये एकजनाको नाम फिर्ता लिन सभामुखले आग्रह गरेका छन्।
नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरी, सांसदहरू विद्या भट्टराई र रघुजी पन्तले प्रश्न टिपाएका छन्।
नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल, नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले पनि प्रश्न टिपाएका छन्।
त्यस्तै जनता समाजवादी पार्टीका दीपक कार्की, लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल, जनमत पार्टीका अनिता देवीले पनि प्रश्न टिपाएका छन्।
नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले प्रश्न सोध्दैछन्।