बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा आगामी जेठ १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन हुने भएको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि स्ववियू निर्वाचनको मिति तय भएको हो।
गत वैशाख ११ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले एक महिनाभित्र स्ववियू निर्वाचनको मिति तोक्न क्याम्पसलाई उत्प्रेषणयुक्त आदेश दिएको थियो।
सोही अनुसार क्याम्पसले बुधबार सूचना प्रकाशित गर्दै विद्यार्थी संघ/संगठन दर्ता र मतदाताको अन्तिम सूची प्रकाशन यसअघि नै भइसकेकोले त्यसपछिका निर्वाचनका कार्यतालिका र मिति तोकेको हो।
क्याम्पसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार जेठ १० गते मनोनयनपत्र वितरण गर्ने, ११ गते मनोनयन दर्ता गर्ने र १४ गते निर्वाचन हुनेछ।
निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले अदालतको आदेशअनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिए।
गत चैत ५ गते देशभरका अन्य क्याम्पसहरूमा स्ववियू निर्वाचन हुँदा लुम्बिनी वाणिज्य क्याम्पसमा हुन सकेको थिएन।
क्याम्पसमा निर्वाचन समिति गठन भई निर्वाचनको तयारी गरिरहेका बेला केही विद्यार्थी संगठनहरूले निर्वाचन हुन नदिन विभिन्न गतिविधि गर्न थालेपछि निर्वाचन समितिले फागुन २९ गते सूचना प्रकाशित गरी निर्वाचन स्थगन गरेको थियो। त्यसपछि क्याम्पसविरूद्ध रिट निवेदन परेको थियो।
निर्वाचन स्थगित भएपछि त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले पनि निर्वाचनका बाँकी काम पूरा गरी निर्वाचन सम्पन्न गर्न क्याम्पसलाई परिपत्र गरेको थियो।
व्यवस्थापनका विभिन्न विषयका चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पसमा स्ववियू निर्वाचन हुन नसक्दा दैनिक रूपमा आइपर्ने विद्यार्थीका समस्या समाधानका लागि बाटो बन्द भएको विद्यार्थी संगठनहरूले बताएका थिए।
लुम्बिनी वाणिज्य क्याम्पसका पूर्व स्ववियू सचिव एवं नेकपा एमाले रूपन्देहीका विद्यार्थी फाँट प्रमुख यम पाण्डेले विद्यार्थी हक हित र अधिकारको संरक्षण गर्न, योग्य नेतृत्व उत्पादन र स्थापित गर्न स्ववियु कोशेढुंगा रहेको बताए।
उनले विभिन्न बहानामा स्ववियू निर्वाचन रोक्ने खेलमा राजनीतिक दल र विद्यार्थी संगठनहरू लाग्न नहुने बताए।
निर्वाचनको मिति तोकिएपछि बुधबारदेखि नै विद्यार्थी संगठनहरूले क्याम्पसमा विभिन्न गतिविधि गर्न सुरू गरेका छन्।