नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने नाममा भएको ठगीधन्दामा शीर्ष नेताहरूकै नाम आइरहेकोले यो विषय प्रष्ट पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न सोध्दै सांसद कुँवरले भिभिआइपीहरू नै यो प्रकरणमा संलग्न भएको पाइए के गर्नुहुन्छ भन्ने प्रश्न गरेका हुन्।
सांसद कुँवरका प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस अपराधको निष्पक्ष अनुसन्धान भइरहेको बताए।
‘यो विषय अहिलेको चर्चामा रहेको र संवदेशनशील विषय हो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधको निष्पक्ष अनुसन्धान गरी प्रमाणका आधारमा दोषी देखिएका जुनसुकै तहका पदाधिकारी तथा व्यक्तिलाई कानूनी दायरामा ल्याउन यो सरकारले कुनै कसर बाँकी राखेको छैन। बाँकी राख्ने पनि छैन,’ उनले भने।
नेपाल प्रहरीको अनुसन्धान कार्यमा कुनै निकायबाट पनि हस्तक्षेप नभएको बताए। ‘हस्तक्षेप हुन दिइने छैन,’ उनले भने, ‘दोषी कोही पनि उम्कन नपाओस् भन्ने हाम्रो जोड छ।’
यो प्रकरणमा भिआइपी र भिभिआइपी पनि परिरहेको र त्यसमा स्वतन्त्र छानबिन भइरहेको उनले बताए। उनले अपराधीलाई कानूनी दायरामा ल्याइने पनि बताए। ‘मैले जानकारी पाएसम्म प्रहरीले पनि निष्पक्ष र स्वतन्त्र छानबिन अघि बढाइरहेको छ,’ उनले भने, ‘उचित निष्कर्षसहित दोषीलाई कारबाहीको दायरामा ल्याएर सुशासन थालनी गरिनेछ।’