सत्तारूढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई ध्यानाकर्षण गराएका छन्।
सो प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्वीकार्य नहुने उनको भनाइ थियो।
शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवले सो प्रकरण राज्यविरूद्धको अपराध भएकाले त्यसमा संलग्न जोकोहीलाई कारबाही गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
सांसद देवले मुलुकमा भ्रष्टाचारको नेक्सस नै खडा भएको उल्लेख गर्दै त्यसलाई सरकारले निरन्तर निगरानीमा राख्नुपर्ने बताए।
उनले मुलुकमा भ्रष्टाचार अब पनि बढ्दै जाने हो भने प्रतिगमनकारीहरूले टाउको ठड्याउन सक्ने पनि स्मरण गराए।
सांसद देवले भने, ‘भ्रष्टाचार नियन्त्रणका लागि निडर र निष्पक्ष भएर काम गर्न वर्तमान सरकारलाई पनि आग्रह गर्न चाहन्छु। हाम्रो मुलुकमा भ्रष्टाचार संस्थागत छ र, बुझ्नुपर्ने कुरो के हो भन्दाखेरी अहिले मुलुकको पहिलो समस्या कुन हो? मूल समस्या के हो कसैले भन्छ भने म सरकारलाई भन्न चाहन्छु अहिलेको मुलुकको मूल इस्यू भनेको करप्सन हो। करप्सनको सन्दर्भमा सरकारले राम्रो काम गर्न सक्यो, मेजर पोलिटिकल फोर्सेसहरूले काम गर्न सक्यो भने अग्रगमनको बाटो सुरक्षित भएर अगाडि जान्छ।’
सांसद देवले नेपाली जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र सेवा प्रचार चाहिरहेको उल्लेख गर्दै त्यस काममा सरकार अग्रसर हुनुपर्ने समेत औंल्याए।