मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले मधेस प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेको हो।
बैठकमा मधेस प्रदेशका नेताहरूसमेत सहभागी थिए।
बालुवाटारको सहमतिसँगै अब नेपाली कांग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी) समेत सरकारमा सहभागी हुनेछन्।
आफूहरू सरकारमा सहभागी हुने र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको नेपाली कांग्रेस मधेस प्रदेशका सभापति एवं संसदीय दलका नेता कृष्णप्रसाद यादवले सेतोपाटीलाई बताए।
‘मधेस प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने र तत्काल यही सरकारमा रहने भन्ने भएको छ। कार्यकालको कति समय भन्नेबारे गठबन्धनले निर्णय गर्छ,’ उनले भने,‘अर्को कार्यकालमा कुन पार्टीको सरकार बन्ने भन्ने पनि भएको छैन। त्यो विषय पछि छलफल हुन्छ।’
जनमत पार्टीलाई पनि सरकारमै राख्ने सहमति भएको उनले बताए।