सरकारले प्रत्येक पालिकामा एक शीत भण्डार बनाउने योजना अघि सारेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक वडा एक विशेष उत्पादनमा जोड दिने बताएका हुन्।
‘एक पालिका एक उत्पादन क्षेत्र नीतिमार्फत् आत्मनिर्भर स्थानीय अर्थतन्त्र बनाउन जोड दिइनेछ। उपयोगमा नआएका बाँझो जमिनमा कृषि खेती प्रवर्द्धन गर्न युवा लक्षित सहकारी तथा सामुदायिक खेती प्रणालीलाई प्रोत्साहित गरिने छ। कृषि उत्पादन, उत्पादकत्व वृद्धि गर्न चक्लाबन्दीलाई प्रोत्साहित गरिने छ,’ उनले भने।
उनले नदी उकास जमिनलाई भूमिहीन विपन्नलाई लक्षित गरी स्थानीय तहको समन्वयमा जग्गा विउ तथा कृषि प्रसार सेवा उपलब्ध गराउने पनि बताए।
त्यस्ता जग्गामा तरकारी तथा फलफूल उत्पादन गर्ने सरकारको नीति रहेको बताए।
सरकारले रासायनिक मल समयमै उपलब्ध गराउने पनि राष्ट्रपतिले बताए। त्यस्तै उनले रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्न बहुवर्षीय योजना तयार गर्ने लक्ष्य लिएको पनि बताए।