लामो रस्साकस्सीपछि सुदूरपश्चिमको मन्त्रिमण्डल विस्तार भएको छ।
माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन मन्त्री पठाएको हो।
शनिबार माओवादीबाट दुई मन्त्री र एक जना राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्।
मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी पार्टीका सांसद रमेशसिंह धामीलाई प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरे।
यस्तै, सोही पार्टीका सांसद झपटबहादुर साउद सामाजिक विकास र गीता माल वन राज्यमन्त्री नियुक्त भएका छन्।
यस्तै, नेपाली कांग्रेसका बझाङबाट निर्वाचित सांसद पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त भएका छन्।
नयाँ नियुक्त मन्त्रीहरूको शनिबार दिउँसो सपथ ग्रहण भएको छ।
सुदूरपश्चिम सरकारको एक मन्त्रालय भने अझै रिक्त छ।
नागरिक उन्मुक्ति पार्टीले सामाजिक विकास मन्त्रालय आफूलाई दिनुपर्ने माग गर्दै आएको थियो।
सर्वाेच्च अदालतको फैसलाले पार्टीका संरक्षक रेशम चौधरीलाई टीकापुर घटनामा जन्मकैदको सजाय सुनाएपछि तत्काल सरकारमा सहभागी नहुने पार्टीको निर्णय अनुसार नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुँदा मन्त्रालय रिक्त रहेको हो।
उन्मुक्तिलाई भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालय दिने तयारी छ। साथै, राज्यमन्त्री पनि दिने तयारी छ।
मुख्यमन्त्री शाहले उक्त मन्त्रालय नागरिक उन्मुक्ति पार्टीका लागि खाली छोडेको बताए।
जुन दिन उन्मुक्ति सरकारमा सहभागी हुन्छ, त्यही दिन मन्त्रीमा नियुक्त गरिने मुख्यमन्त्री शाहको तयारी छ।