प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ।
अढाई महिनापछि शनिबार अपराह्न ५ बजे दोस्रो प्रदेश सभाको प्रथम अधिवेशनको नवौं बैठक संचालन भएको बैठक एमालेले अवरूद्ध गरेपछि स्थगित भएको हो। अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन।
बैठकको सुरूवातमा सभामुख भीमबहादुर भण्डारीले कार्यव्यवस्था परामर्श समितिको गठन भएको जानकारी गराएका थिए। उनले उक्त समितिमा रहेका सदस्यको नामावली प्रस्तुत गरेका थिए। विषयगत समिति गठन भएको र सो समितिमा मनोनयन भएका सदस्यहरूको नामावली पनि प्रस्तुत गरिएको थियो।
सार्वजनिक महत्वको विषयमा बोल्न सभामुखले आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलाई समय दिएका थिए।
त्यसपछि सभामुखले समसमायिक विषयमा बोल्न सांसदहरूलाई ५ मिनेट दिएका थिए। त्यसलगत्तै सांसद मेघराज खड्काले बोलेपछि एमाले सांसद धर्मराज पाठकले विरोध जनाए।
उनले सांसदलाई दिएको समय विशेष हो वा शून्य समय प्रष्ट नभएको भन्दै विरोध जनाएका हुन्। उनले विरोध जनाएपनि सभामुख भण्डारीले बैठकलाई निरन्तरता दिए।
त्यसपछि भने अन्य एमाले सांसदहरूले पनि विरोध गरेका हुन्।
एमालेका ससंदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारले पूर्णता पाउन नसकेको र जनअपेक्षित काम गर्न नसेकको भन्दै विरोध गरेका थिए।
पुँजिगत खर्च गर्न नसक्ने, केन्द्रमा सत्तापक्ष भएपनि बजेट ल्याउन नसकेको भन्दै उनले विरोध गरेका हुन्।
एमालेको विरोधपछि प्रदेशसभा बैठक बिना निष्कर्श केहि समयमा लागि स्थगित भएको छ। अर्को बैठकको सूचना भने जारी भइसकेको छैन।
गत फागुन २१ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन प्रदेश सभा बैठक बसेको थियो। त्यसपछि शनिबार बैठक बसेको हो।