प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले राजश्व संकलनमा सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ? भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले केही दिनअघि विदेशी कूटनीतिक नियोगका अधिकारी, दातृ निकायका प्रतिनिधिलाई लक्ष्यअनुरूप राजश्व उठाउन समस्या भइरहेको बताएको भन्दै ओलीले त्यस्तो प्रश्न गरेका हुन्।
‘सरकार प्रमुखले दातृ समदायसँगको ब्रिफिङमा राजश्व संकलन कठिनाइ भएको कुरा उल्लेख गर्न मिल्छ? राजश्व संकलन गर्न पनि सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ? राजश्व उठाउने अनिवार्य प्राथमिक कर्तव्य सरकारको होइन र?,’ सरकारको नीति कार्यक्रमाथिको छलफलमा दलका तर्फबाट बोल्दै ओलीले प्रश्न गरेका थिए।
सरकार आफ्नो प्रारम्भिक, प्रथम कर्तव्यमै असफल भएको ओलीको टिप्पणी थियो।
‘त्यही असफलताको दस्तावेजका रूपमा नीति कार्यक्रम आएको छ,’ उनले भने।
राष्ट्रिय तथ्यांक कार्यालयको प्रकाशनलाई विश्वास गर्ने कि, अर्थमन्त्रीको दाबीलाई सही भन्ने द्विविधा रहेको उनको भनाइ थियो।
‘प्रधानमन्त्रीज्यूबाट कूटनीतिक समुदाय समक्ष भएको प्रस्तुतिलाई सही भन्ने कि, राष्ट्रपतिले प्रस्तुत गरेको नीति, कार्यक्रमको विवरणलाई सही भन्ने ? फरकफरक छन् विवरण?,’ उनले भने।
नीति कार्यक्रममा धेरै अन्तरविरोध रहेको पनि उनले बताए।