प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले यसपटकको कार्यकालमा थोरै बोल्ने र धेरै गर्ने संकल्प लिएको बताएका छन्। राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा काठमाडौंको नाचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'म अहिले धेरै बोल्दिनँ। म प्रधानमन्त्री जस्तो भएर बोल्नुपर्ने हुन्छ। मैले बोल्ने भाषा विप्लवजी (नेकपा महासचिव) ले बाहिरबाट बोलिरहनुभएको छ। योपटक मैले थोरै भन्ने र धेरै काम गर्ने संकल्प लिएको छु। मैले प्रधानमन्त्री भएको दिनदेखि त्यो गरिरहेको छु।'
आफू प्रधानमन्त्री भएपछि पहिलो पटक बेपत्ता योद्धाहरूको शिलालेख उद्घाटन गरेर 'जनयुद्ध' का योद्धा र बेपत्ता योद्धाहरूको पक्षमा काम सुरू गरेको उनको भनाइ थियो।
आफू पहिलो पटक प्रधानमन्त्री हुँदाको निर्णय खोजेर राजपत्रमा प्रकाशित गरेको र हल्ला नगरी योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गरेको पनि उनले बताए। त्यस्तै विभिन्न विरोधका बाबजुद आफूले फेरि हल्ला नगरी जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेको बताए।
'२०७१ मा भएको निर्णयअनुसार जनयुद्धका योद्धालाई दुई लाख दिने निर्णयको अनावश्यक विरोध भयो। सो विषयमा सर्वोच्च अदालले पुनः राहत दिने बाटो खोल्ने छ भन्ने विश्वास छ,' उनले भने, 'यसका लागि माओवादी आन्दोलनका सम्पूर्ण धारहरू एक भएर सचेततापूर्वक लाग्नुपर्नेछ।'
मन्तव्यका क्रममा प्रधानमन्त्री प्रचण्डले बेपत्ता योद्धाहरूको छानबिनको कुरा र शान्ति प्रक्रियाको काम अन्तिम चरणमा रहेको जानकारी दिए।
शान्ति प्रक्रियाको काम निकै ढिलो भएको भन्दै बेपत्ताहरूलाई जिउँदो रूपमा पाउन मुस्किल हुने पनि उनले बताए। बेपत्ता योद्धाहरूलाई सहिद घोषणा गरेर परिवारलाई परिपूरणको व्यवस्था गर्न उचित हुनेतर्फ आफ्नो ध्यान गएको उनको भनाइ छ।
'पहिलेपहिले मलाई बेपत्ता योद्धाहरू हुनुहुन्न होला भनेको सुन्दा त्यो भन्नेलाई झम्टौं झम्टौं जस्तो हुन्थ्यो। अहिले ती योद्धालाई बेपत्ता भन्नुभन्दा पनि उहाँहरूको स्थिति सार्वजनिक गरी सहिद घोषणा गर्दा चित्त बुझाउने ठाउँमा पुगेको छु। मलाई लाग्छ हामी सबै त्यो अवस्थामा पुगेका छौं,' उनले भने।
अब समय धेरै घर्किसकेको बताउँदै उनले बेपत्ता आफन्तहरू सम्झेर सधैं बेचैनीमा बस्न नसकिने बताए।
'अब समय निकै बितिसक्यो। आफन्तहरू सम्झेर कति बेचैनीमा बस्नु? अब उहाँहरूको अवस्था सार्वजनिक गरी टंग्याउनु नै उचित हुन्छ,' उनले भने।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लव, एमाले नेता प्रदीप ज्ञावाली, नेपाली कांग्रेसका नेता तथा सचेतक रमेश लेखक, नेपाल समाजवादीकी नेतृ हिसिला यमी, आम जनता पार्टीका उपाध्यक्ष तिलक थापा लगायत नेताहरूले सम्बोधन गरेका थिए।