सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले विभिन्न समितिमा विचाराधीन विधेयकहरूलाई छिटो पारित गर्न 'फोकल पर्सन' तोक्ने भएका छन्।
विधेयक, कानून निर्माण सहजीकरण कार्यदलको बिहीबार सिंहदरबारमा बसेको बैठकले 'फोकल पर्सन' तोक्ने निर्णय गरेको हो।
‘कांग्रेस र एमाले दुवैले फोकल पर्सन तय गर्ने निर्णय गरेका छौं। कांग्रेसको तर्फबाट पनि त्यो भएको छ। एमालेको तर्फबाट भइसक्यो। पुस २४ गते दुवै फोकल पर्सनसहितको बैठक आयोजना हुन्छ, त्यसपछि विषयगत समितिका सभापतिसँग छलफल गर्नेछौं,’ उनले भने।
एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले संसदीय समितिहरूमा विचाराधिन विधेयकलाई छिटो समितिबाट पारित गर्ने गरी अघि बढ्न लागिएको बताए।
विभिन्न समितिमा रहेका सदस्यहरूसँग कांग्रेस र एमालेले छलफलसमेत गरिसकेका छन्।
उनकाअनुसार फोकल पर्सन (विषयगत रुपमा जिम्मेवारी दिएका व्यक्ति) सहितको बैठक पुस २४ गते बस्ने पनि जानकारी दिए।
दुवै दलले संसदको ६ वटा समितिमा विधेयकहरूलाई छिटो पारित गर्नेगरी कार्यदल बनाएको र सोहीअनुसार बैठक चलेको उनको भनाइ छ।
अर्थ समितिमा ५, राज्य व्यवस्थामा ४, शिक्षा २ वटा, पूर्वाधारमा २ वटा, कानूनमा एउटा र उद्योगसँग सम्बन्धित समितिमा एउटा विधेयक विचाराधीन छ।
संसदीय काम र प्रक्रिया हरेक सांसदको पहिलो काम भएकाले सोहीअनुसार लाग्न सांसदहरुसँग आग्रह गरिएको पनि उनले बताए।
बैठकमा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, कांग्रेस संसदीय विभाग प्रमुख जीवन परियार, सचेतक शुशीला थिङ, एमालेका सचेतक सुनिता बराललगायतको उपस्थिति थियो।
(न्युज एजेन्सी नेपाल)