नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताएका छन्।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ ले बिहीबार सय दिने अभियान अन्तर्गत आयाोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका आन्तरिक गतिविधि झाराटारा किसिमले गरेर नहुने बताएका हुन्।
पार्टीको संगठनलाई कागजी रूपमा मात्रै सीमित गर्न नहुने भन्दै उनले पार्टीलाई बलियो ढंगले अघि बढाउन सबै लाग्नुपर्नेमा जाेड दिए।
पार्टीभित्र असल संस्कार स्थापित गर्नुपर्ने भन्दै उनले अस्वस्थ संस्कारले कसैलाई फाइदा नगर्ने बताए।
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री समेत रहेका कांग्रेस पूर्वमहामन्त्री सिंहले कागजमा मात्र सदस्य संख्या भएर नहुने भन्दै उनले पार्टीका कार्यक्रमहरूमा सहभागिता बढाउनुपर्ने बताए।
'पार्टी केन्द्रले भन्यो, जिल्लाले सर्कुलर गर्यो। गर्नुपर्ने भएको हुनाले कार्यक्रम गरेको भनेर भएन। झारा टारेर, आलटाल गरेर पार्टी चल्नेवाला छैन। सिरियस्ली लाग्नुपर्यो हामी सबै,' उनले भने।
ठूला दल मिलेर सरकार बनाएकोप्रति नकारात्मक टीकाटिप्पणी हुने गरेको भन्दै सिंहले जनताको राजनीतिक स्थायित्व र स्थिरताको चाहनाअनुसार नै ठूला दल मिल्नुपरेको धारणा राखे।
‘पहिला सरकार बनेको केही हप्ता, महिनामा स्क्याण्डलहरू आउँथ्यो। राजनीति स्थिरता दिन्छाैं भनेर बनेको कांग्रेस-एमालेको सरकार बनेपछि तपाईंहरूले के त्यस्ताे स्क्याम सुन्नुभएको छ?,' उपप्रधानमन्त्री सिंहले भने।
त्यस्तै उनले सरकार विधिको शासनमा प्रतिबद्ध रहेको भन्दै बद्मासी गर्नेमाथि विधिअनुसारनै अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढ्ने र अन्तिम फैसला सर्वाेच्च अदालतले गर्ने पनि बताए।