राष्ट्रिय सभामा नेपाली कांग्रेसका दलका नेता कृष्ण सिटौलाले राजावादी नहुनु राष्ट्रिय सभाको सकारात्मक पक्ष भएको टिप्पणी गरेका छन्।
शुक्रबार संसदीय मामिला पत्रकार समाजले राजधानीमा आयोजना गरेको अन्तर्क्रिया गरेको कार्यक्रममा सिटौलाले राष्ट्रिय सभाका सांसदहरू संविधानका विषयवस्तुबारे एकै ठाउँमा रहेको बताए।
‘अहिलेको राष्ट्रिय सभाको राम्रो पक्ष भनेको कम्तीमा यहाँ राजावादी छैनन्,’ सिटौलाले भने, ‘यहाँ राजा चाहिन्छ कि चाँहिदैन भन्ने चिन्ता गर्नु पर्दैन। संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रतिबद्ध मान्छे छन्। विचारले र संविधानको विषयवस्तुमा एक ठाउँमा छौँ। संविधानको क्यारेक्टरमा हामी एक ठाउँमा छौं।’
आफ्नाबारे धेरैले राष्ट्रिय सभामा ‘हारेको मान्छे किन आयो?’ भनेर टिप्पणी गर्ने गरेको सिटौलाले बताए।
‘कहिलेकाहीँ मलाई पनि ‘किन आएँ’ भन्ने लाग्छ,’ सिटौलाले भने, ‘वास्तवमा म शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले आउनुपर्यो भनेकाले राष्ट्रिय सभामा आएको हुँ। उहाँहरूले अध्यक्ष बन्नुपर्यो भन्नुभयो। तर म आएको भोलिपल्ट गठबन्धन टुट्यो।’
उनले तत्कालीन नेकपा माओवादी केन्द्र र कांग्रेसको गठबन्धन टुट्ने तय भएपछि आफूले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेको उल्लेख गरे।
‘गगन थापा र रमेश लेखक लिएर म प्रचण्डकहाँ गएँ,’ सिटौलाले भने, ‘दश मिनेटको भेटमा मैले उहाँलाई भनेँ - तपाईंले एमालेसँग गठबन्धन गर्नुभयो। हामी दुई महिनाभित्र तपाईंलाई प्रधानमन्त्रीबाट निकाल्दिछौँ। पश्चाताप मान्न तयार हुनुहोस्।’
त्यसको केही समयपछि सरकार परिवर्तन भएको उनले बताए।
‘मध्यरातमा हस्ताक्षर गरे होलान्,’ सिटौलाले भने, ‘तर उहाँलाई भनेको हो।’
सिटौलाले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई स्वर्ग र नर्क सँगै जाने आश्वासन दिएको विषयमा पनि प्रश्न गरे।
‘प्रचण्डले दिनभरी स्वर्ग र नर्क सँगै जाने भनेको राति (ओलीजीले) यस्तो गर्ने भन्नुभयो,’ सिटौलाले भने, ‘तर आधारभूत रूपमा स्वर्ग र नर्क कहीँ गइन्छ र? कहीँ सँगै मरिन्छ र?’