अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनपछि दबाबको तीर रूसतिर फर्काएका छन्।
शुक्रबार उनले युक्रेनसँग युद्धविराम र शान्ति सम्झौता नहुँदासम्म रूसमाथि कडा प्रतिबन्ध लगाउने विषयमा आफूले गम्भीरतापूर्वक विचार गरिरहेको बताएका छन्। बैंकिङ प्रतिबन्ध, भन्सार शुल्क लगायत विषयमा आफूले सोचिरहेको उनले बताए।
ट्रम्पले एक हप्ताअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ह्वाइट हाउसको ओभल अफिसमा भएको भनाभनपछि युक्रेनलाई दिइने सैन्य सहायता र गुप्तचर जानकारी आदान-प्रदान रोकिदिएका थिए। उनले युक्रेनलाई युद्धविराम सम्झौतामा सहमत हुन निरन्तर दबाब दिँदै आएका छन्।
ट्रम्पले यसपालि रूसमाथि दबाब बढाउँदै भनेका छन्, 'म रूसमाथि ठूलो स्तरको बैंकिङ प्रतिबन्ध, अन्य प्रतिबन्ध र भन्सार शुल्क लगाउने विषयमा गम्भीर रूपमा विचार गरिरहेको छु। युद्धविराम र अन्तिम शान्ति सम्झौता नहुँदासम्म यो प्रक्रिया जारी रहनेछ।'
दुवै मुलुकलाई वार्ताको टेबलमा आउन आह्वान गर्दै उनले भनेका छन्, 'रूस र युक्रेन, तुरून्तै वार्ता टेबलमा आओ। ढिला नगर। धन्यवाद!'
ट्रम्पले युक्रेनप्रति कडा र रूसप्रति नरम नीति अपनाएको भन्दै आलोचना खेपिरहेका छन्। रूस-युक्रेन युद्ध सुरू भएकोमा उनले केही हप्ताअघि युक्रेनलाई दोष दिएका थिए।
युक्रेनमा सन् २०२२ फेब्रुअरीमा रूसले आक्रमण गरेपछि, संयुक्त राज्य अमेरिका र उसका साझेदारहरूले सयौं प्रतिबन्ध लगाएका छन्।
रूस विश्वको प्रमुख तेल उत्पादकमध्ये एक हो। रूसको तेल अरू मुलुकले किन्दा प्रति ब्यारेल ६० डलरभन्दा बढीमा किन्न नपाइने बन्देज अमेरिका लगायत पश्चिमा मुलुकले लगाएका छन्। जबकि बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल योभन्दा धेरै पर्छ।