नेकपा (एमाले) को जनसंगठन युवा संघ पर्वतको जिल्ला अधिवेशनका विषयमा उत्पन्न विवादमा दुई पक्षबीच हानाहान भएको छ ।
अधिवेशनका विषयमा विवादमा हानाहान हुँदा एमाले गण्डकी प्रदेश सदस्य अर्जुन पौडेल ‘निर्जन’ र ध्रुब श्रेष्ठ घाइते भएका छन्।
उनीहरूको स्थानीय शान्तिदीप अस्पतालमा उपचार भइरहेको छ। हानाहान हुँदा प्रदेश सदस्य निर्जनको टाउकोमा चोट लागेको एमाले पर्वतका एक नेताले जानकारी दिए। उनका अनुसार धारिलो हतियार प्रयोग गरी आक्रमण हुँदा निर्जनको टाउकोबाट रगत बगेको छ।
एमाले पर्वतका नेताहरुका अनुसार पार्टीभित्र झाँगिएको विवादका कारण युवा संघमा हानाहानको स्थिति बनेको हो। राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधी सभा सांसद एवं पूर्व कानुनमन्त्री पदम गिरी समूह एमाले पर्वतमा क्रियाशील छ। गिरी समूहले जबरजस्ती गर्दा हानाहानको स्थिति बनेको ती नेताले जानकारी दिए ।
एमाले केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री विकास लम्सालले युवा संघको जिल्ला अधिवेशनमा जबरजस्ती गर्न खोज्दा अप्रीय घटना हुन पुगेको बताए।
युवा संघ पर्वतका अध्यक्ष विनोद थापाको अनुपस्थिति उपाध्यक्ष आशिष श्रेष्ठले अधिवेशनको अध्यक्षता गरेका थिए। कार्यक्रमको सञ्चालन सचिवले नगरी उपसचिव ध्रुब श्रेष्ठले गरेका थिए।
अध्यक्ष थापा जिल्लामै रहेको र अधिवेशनमा आउँदा आउँदै पार्टी नेतृत्वको दबाबले अधिवेशन भएको जनाइएको छ। राष्ट्रिय सभाका पूर्व अध्यक्ष तिमिल्सिना पक्षले अधिवशन केही समयपछाडि सार्न खोजेका थिए भने पूर्वमन्त्री गिरी समूहले बुधबार नै अधिवेशन जसरी भए पनि गर्ने भन्दै कार्यक्रम आयोजना गरेका थिए।
‘पार्टी नेतृत्वले नै जिल्ला अधिवेशन आह्वान गरेको देखियो, जुन युवा संघको विधानविपरीत पनि छ,’ एमाले पर्वतका एक नेताले भने, ‘गुटगत राजनीतिले गर्दा एक पक्षले अर्कोलाई स्वीकार्नै नसक्ने अवस्था देखियो ।’
पर्वतका एमाले केन्द्रीय सदस्य विकास लम्सालले पनि संगठनका अध्यक्ष आउँदाआउँदै कार्यक्रम अघि बढाउनु गलत भएको बताए।
‘युवा संघका अध्यक्ष कार्यक्रममा आउँदै हुनुहुन्थ्यो। उहाँ नआइपुग्दै जबरजस्ती कार्यक्रम आयोजना गरिएछ,’ उनले भने, ‘पार्टी नेतृत्वले मनोमानी र ज्यादती गरेको देखियो। सबैलाई समेट्नुपर्ने ठाउँमा गुण्डागर्दी भएछ।’
युवा संघको अधिवेशनमा सामान्य धकेलाधकेल भए पनि धारिलो हतियार प्रहार गरेर घाइते भएको विषय थाहा नभएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी इन्स्पेक्टर रामप्रसाद सापकोटाले बताए।
‘अहिले पनि कार्यक्रम भइराखेको छ, अर्को पक्षले रोक्न माग गरिराखेका छन्,’ उनले भने, ‘धकेलाधकेल भएको जानकारी छ, चोटपटक लागेको जानकारी छैन।’
यस विषयमा बुझ्न खोज्दा एमाले पर्वतका अध्यक्ष गोविन्द पहारी र युवा संघका इन्चार्ज राजीव पहारीसँग सम्पर्क हुन सकेन।