राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकार्य–संवाद कार्यदल गठन गर्ने भएको छ।
बुधबार बसेको पार्टी सचिवालय बैठकले विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र त्यसका लागि ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
यो कार्यदलमा कोको छन् र यसको कार्यादेश के हो भनेर रास्वपाले खुलाएको छैन।
त्यस्तै रास्वपाले 'लुटतन्त्र'को खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा भन्ने नारा तय गर्दै तेस्रो स्थापना दिवस मनाउने निर्णय गरेको छ। आगामी असार असार ७ गते बिहान ९ बजे पार्टीले यस्तो नारा, कार्यक्रमसहित तेस्रो स्थापना दिवस मनाउने तय भएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।
पार्टी स्थापना दिवसकै दिन, असार ७ गते बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय (चःमति, वनस्थली) मा केन्द्रीय समिति बैठक आयोजना गर्ने निर्णय भएको झाले बताए।
सचिवालय बैठकले पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन सफल बनाउन सातै प्रदेशमा महाधिवेशनकेन्द्रित संगठन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। रास्वपाले महाधिवेशन सारेर फागुनमा पुर्याएको छ।
त्यस्तै सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिएको भन्ने भ्रामक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको रास्वपाले बताएको छ।
‘पार्टीले यसलाई संसदको रोष्ट्रमबाट गृहमन्त्रीद्वारा पीडितलाई दिइएको धम्कीको नियोजित श्रृङ्खलाको एक हिस्सा मानेको छ। पार्टीले स्पष्ट गर्दछ कि यस्तो व्यवहारप्रति कुनै प्रकारको प्रोत्साहन दिइएको छैन। तथापि, पार्टीमा आबद्ध कुनै व्यक्ति संलग्न भए/नभएको यकिन गर्न सांसद चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव बिष्ट सदस्यहरू रहनुभएको छ,’ रास्वपाले भनेको छ।
यस्तै इजरायल–इरानबीचको बढ्दो द्वन्द्वबीच दुवै देशमा रहेका नेपाली नागरिकहरूको सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गर्न सरकारसँग तुरुन्त पहल गर्न सरकारसँग रास्वपाले माग गरेको छ ।
रास्वपाले स्याङ्जाको आँधीखोलामा भइरहेको दोहन विरुद्ध आवाज उठाउँदा वालिङ नगरपालिका–१० का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालबाट खुलेआम रड प्रहार गरिएको घटनाको निन्दा गरेको छ।
‘पार्टीका केन्द्रीय सदस्य एवं नदी संरक्षण अभियन्ता मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपाल गम्भीर घाइते हुनुभएको घटनालाई पार्टीले अत्यन्त गम्भीर रूपमा लिएको छ। सौम्य स्वरूपमा उठाइएका विरोधलाई समेत सत्ता पक्षबाट हिंसात्मक रूपमा दबाउने प्रवृत्तिको पार्टी घोर भत्र्सना गर्दछ। यस जघन्य घटनाले पार्टीलाई विचलित गर्न सक्दैन। पार्टी अझ दृढताका साथ जनताको पक्षमा आवाज उठाउँदै अघि बढ्ने प्रतिबद्धता दोहोर्याउँदछ। घटनामा संलग्न सबै दोषीलाई तुरुन्त पक्राउ गरी कानुनी कारवाही गर्न पार्टीले सम्बन्धित निकायसँग आवश्यक पहल गर्नेछ। त्यस्तै, घाइते साथीहरूको उपचार तथा कानुनी सहयोग सुनिश्चित गर्न पार्टीले आवश्यक सम्पूर्ण कदमहरू चालेको जानकारी गराइन्छ,’ रास्वपाले भनेको छ।