इसराइलको संसदीय निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले अग्रता कायम राखेको छ।
एकतिहाइभन्दा बढी मतगणना सकिँदा लिकुड पहिलो र विपक्षी नेता गादी आइसेनकोटको याशार पार्टी दोस्रो स्थानमा छ।
कतारी मिडिया अलजजिराका अनुसार इसराइलको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो विवरणमा २१ लाखभन्दा बढी मत गणना भइसकेको छ।
गणना भएका वैध मतमध्ये लिकुडले २१.७ प्रतिशत र याशारले १५.७२ प्रतिशत मत पाएका छन्। अरब नेतृत्वको संयुक्त सूची ९.२२ प्रतिशत मतसहित तेस्रो स्थानमा छ।
टाइम्स अफ इसराइलले सार्वजनिक गरेको प्रारम्भिक परिणामअनुसार नेतन्याहूको गठबन्धनले ५७ सिट पाउने देखिएको छ।
आइसेनकोटको गठबन्धनले ४७ सिट र अरब दलहरूले १६ सिट पाउने प्रारम्भिक आकलन छ।
यसअघि सार्वजनिक भएका एक्जिट पोलहरूले नेतन्याहूको गठबन्धनलाई ५१ देखि ५२ सिट र आइसेनकोटको समूहलाई ४९ देखि ५१ सिट दिने अनुमान गरेका थिए।
तर प्रारम्भिक मतगणनामा नेतन्याहूको गठबन्धनले बढी सिट पाउने देखिएको छ।
इसराइली संसद् नेसेटमा कुल १२० सिट छन्।
सरकार गठन गर्न कम्तीमा ६१ सिटको समर्थन आवश्यक पर्छ। पछिल्लो आंशिक परिणामअनुसार नेतन्याहूको गठबन्धन बहुमतभन्दा चार सिट पछाडि छ।
आइसेनकोटको गठबन्धन पनि बहुमतबाट टाढा देखिएको छ।
निर्वाचनमा करिब ७३ लाख ३० हजार मतदाता योग्य रहेकामा ५६ लाख ९० हजारभन्दा बढीले मतदान गरेका थिए।
मतगणना जारी रहेकाले दलहरूले पाउने मत प्रतिशत र सिट संख्या परिवर्तन हुन सक्छ।