इसराइलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीको गठबन्धनले अग्रता कायम राखेको छ।
२७ लाखभन्दा बढी मत गणना हुँदा लिकुड सबैभन्दा ठूलो दलका रूपमा देखिएको छ। तर नेतन्याहूको दक्षिणपन्थी गठबन्धनले सरकार बनाउन आवश्यक बहुमत पुर्याउने हो वा होइन भन्ने अझै स्पष्ट भइसकेको छैन।
नेतन्याहूसँग प्रतिस्पर्धा गरिरहेका गादी आइजेनकोटकोको याशार पार्टीसहित विपक्षी गठबन्धनले पनि बहुमत नपुर्याउने देखिएको छ।
टाइम्स अफ इसराइलका अनुसार २७ लाखभन्दा बढी मत गणना हुँदा नेतन्याहूको दल लिकुडले सदर मतको २०.८ प्रतिशत पाएको छ।
प्रारम्भिक मतगणनामा लिकुडले सदर मतको २१ प्रतिशत मत पाएको थियो। गणना अघि बढिरहँदा उसले पाएको मत प्रतिशत खस्किँदै गइरहेको छ।
लिकुड, शास, युनाइटेड टोरा जुडाइज्म, ओत्ज्मा येहुदित र रिलिजियस जायोनिज्म–जेहुत लगायत सत्ताधारी गठबन्धनमा छन्। अहिलेसम्मको गणनाले यो गठबन्धनले ५५ सिट पाउने प्रक्षेपण छ।
गादी आइजेनकोट नेतृत्वको विपक्षी खेमामा रहेका याशार, नफ्ताली बेनेटको टुगेदर गठबन्धन, डेमोक्र्याट्स र यिसरेल बेइतेनुले मिलेर ५० सिट पाउने प्रक्षेपण छ।
अरबी दलको गठबन्धन (संयुक्त सूची र राम पार्टी) ले मिलेर १५ सिट ल्याउन सक्ने अनुमान छ। गादी आइजेनकोटको याशार पार्टी एक्लैले १७.०६ प्रतिशत मतसहित दोस्रो स्थानमा छ।
तेस्रो स्थानमा भने नफ्ताली बेनेटको ‘टुगेदर’ गठबन्धन पुगेको छ।
उसले ९.२ प्रतिशत मत पाएको छ। यसअघि तेस्रो स्थानमा रहेको अरब नेतृत्वको संयुक्त सूचीलाई बेनेटको गठबन्धनले उछिनेको हो।
मतगणना जारी रहेकाले दलहरूले पाउने मत र संसद्मा उनीहरूको सिट संख्या फेरिन सक्छ।
इसराइलको १२० सदस्यीय संसद् नेसेटमा बहुमतका लागि ६१ सिट आवश्यक पर्छ। जारी मतगणनामा दलहरूले जति मत पाइरहेका छन् त्यस हिसाबमा दुवै पक्षले बहुमतको सरकार बनाउन नसक्ने अवस्था देखिएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।
नेतन्याहूको खेमाले ५६ सिट मात्रै पाए उसलाई सरकार बनाउन थप पाँच सिटको समर्थन चाहिन्छ। आइजेनकोटको विपक्षी गठबन्धनलाई पनि सरकार बनाउन मुस्किल पर्नेछ।
त्यसो हुँदा दुई प्रमुख राजनीतिक खेमाले सरकार गठनका लागि साना दलसँग वार्ता गर्नेछन्।
सरकार गठनमा अरब नेतृत्वका दलको भूमिका पनि महत्त्वपूर्ण हुन सक्छ।
राम पार्टीका नेता मन्सुर अब्बासले आफूलाई विभिन्न पक्षबाट फोन आइरहेको बताएका छन्।
उनका अनुसार आइजेनकोटको खेमाबाट मात्रै होइन, नेतन्याहूको लिकुड पार्टीबाट पनि सम्पर्क भइरहेको छ। तर नेतन्याहूले भने अरबी दललाई सरकारमा सामेल गर्न नहुने भनेर बुधबार बिहान पार्टी हेडक्वार्टरमा सम्बोधन गर्ने क्रममा बोलेका छन्।
सरकार बनाउन नेतन्याहू र आइजेनकोटसँग के विकल्प छन्?
सरकार गठनका लागि नेतन्याहू र आइजेनकोट दुवैसँग केही विकल्प छन्।
पहिलो, दुवैमध्ये कुनै एकले विपक्षी खेमाका साना यहुदी दललाई आफ्नो पक्षमा ल्याएर अरब नेतृत्वका दलको समर्थनबिनै बहुमत जुटाउन सक्छन्। त्यसका लागि दलहरूबीच नीतिगत सहमति र सत्ता साझेदारीबारे छलफल गर्नुपर्ने हुन्छ।
दोस्रो,आइजेनकोटले अरब नेतृत्वका संयुक्त सूची र राम पार्टीको समर्थनमा सरकार बनाउन सक्छन्।
यस्तो गठबन्धनले बहुमत पुर्याउन सके उनी प्रधानमन्त्री बन्न सक्छन्।
तर अरब नेतृत्वका दललाई सरकारमा सहभागी गराउने विषय इसराइली राजनीतिमा विवाद छ।
नेतन्याहूले मतगणना जारी रहँदा आफ्नो पार्टी मुख्यालयमा सम्बोधन गर्दै अरब दलको समर्थनमा सरकार बनाउनु देशको सुरक्षाका लागि जोखिमपूर्ण हुने बताएका थिए।
तेस्रो विकल्प, आइजेनकोटले अरब नेतृत्वका दललाई सरकारमा सहभागी नगराई बाहिरबाट समर्थन लिएर अल्पमतको सरकार बनाउन सक्नेछन्।
संयुक्त सूचीले नेतन्याहूविरोधी गठबन्धनको विश्वासको मतसम्बन्धी मतदानमा विपक्षमा मत नदिने प्रतिबद्धतासहित समर्थनको आधार दिन सक्ने प्रस्ताव गरेको छ।
चौथो विकल्प, नेतन्याहू र आइजेनकोटबीच सत्ता साझेदारीको सहमति हो। उनीहरूले राष्ट्रिय एकताको सरकार बनाएर आलोपालो प्रधानमन्त्री बन्ने व्यवस्था गर्न सक्छन्। तर दुई नेताबीच यस्तो सहमति हुने निश्चित छैन।
यी विकल्पमध्ये कुनैबाट पनि सरकार बन्न नसके इसराइलमा फेरि निर्वाचन हुन सक्छ।
त्यसैले मतगणनाको अन्तिम परिणामसँगै कुन दलले कति सिट पाउँछ भन्ने मात्र होइन, सरकार गठनका लागि कुन दल कसको पक्षमा उभिन्छ भन्ने विषय पनि निर्णायक हुनेछ।
सरकार गठनका लागि कति समय हुन्छ?
इसराइलमा निर्वाचनपछि राष्ट्रपतिले सरकार गठन गर्न एक उम्मेदवारलाई सुरुमा २८ दिनको समय दिन सक्छन्। निर्धारित समयमा सरकार बनाउन नसके राष्ट्रपतिले थप १४ दिन समय दिन सक्छन्। यसरी सरकार गठनका लागि अधिकतम ४२ दिन उपलब्ध हुन्छ।
यो अवधिमा दलहरूले सरकारको नीति, मन्त्री पद बाँडफाँट र सत्ता साझेदारीबारे वार्ता गर्न सक्छन्। कुनै उम्मेदवारले ६१ सिटको प्रत्यक्ष समर्थन जुटाउन नसके पनि केही दलको बाह्य समर्थनमा अल्पमतको सरकार बनाउने प्रयास गर्न सक्छन्।
नयाँ सरकारले संसद्बाट विश्वासको मत प्राप्त गर्नुपर्छ।
मतदानमा केही दल अनुपस्थित भए वा तटस्थ बसे भने विश्वासको मत प्राप्त गर्न ६१ मत नै आवश्यक नपर्न सक्छ। तर सरकार टिकाउन संसद्मा पर्याप्त समर्थन जुटाउनु भने अनिवार्य हुन्छ।
अहिले सार्वजनिक भएका सिट प्रक्षेपण र मत प्रतिशत प्रारम्भिक भएकाले अन्तिम परिणामले सरकार गठनको समीकरण बदल्न सक्छ।
लिकुडको अग्रता कायम रहे पनि नेतन्याहूले सरकार बनाउन आवश्यक समर्थन जुटाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्नको उत्तर भने अन्तिम मतपरिणाम र त्यसपछि हुने राजनीतिक वार्ताले दिनेछ।