नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनबाट भाग्न खोजे र आन्दोलन नगरे देशको रक्षा गर्न नसकिने दाबी गरे।
अध्यक्ष ओलीले दक्षिणपन्थी शक्तिहरू लोकतन्त्र र शान्तिको कुरा गरेर नेपालीलाई धोका दिइरहेको आरोप लगाए। सरकार बलजफ्ती अघि बढिरहेको उनको भनाइ छ। नेपाल प्रहरी बर्दीबिनै पक्राउ गर्न जाने गरेको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरे।
‘देश क्रिटिकल अवस्थामा छ। यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ। यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ। आन्दोलन सुन्नै नहुने, टक्टक्याउने खालको मनस्थिति पनि नबनाऔँ। आन्दोलनले शक्ति आर्जन गर्ने हो। आन्दोलनले नै शक्ति आर्जन गर्दछ। यति असहज र अप्ठ्यारो स्थिति छ, आन्दोलनबाहेक अर्को कुराबाट हामी जान खोज्यौँ भने, आन्दोलन गर्ने आँट गरेनौँ भने हामी सफल हुन सक्दैनौँ। आन्दोलनले टिकाउने हो। आन्दोलनले अघि बढाउने हो र आन्दोलनले जिताउने हो,’ उनले भने।
छठपछि वा जहिले भए पनि आन्दोलनको मानसिकताका साथ तयारी अवस्थामा रहन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई उनले निर्देशन दिए।
अध्यक्ष ओलीले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा एमालेबिनाको देश बनाउने योजनालाई दिवास्वप्नमा परिणत गरिदिने गरी निर्वाचनमा जुट्न पनि निर्देशन दिए।
– न्युज एजेन्सी नेपाल