अमेरिकाको सत्तारूढ रिपब्लिकन पार्टी निकट मानिने दक्षिणपन्थी अभियन्ता चार्ली कर्कको सेप्टेम्बर १० मा युटा राज्यको एक क्याम्पसमा बोलिरहेको बेला गोली हानी हत्या भयो।
दक्षिणपन्थी संस्था टर्निङ पोइन्ट युएसए (टिपीयुएसए) का ३१ वर्षीय संस्थापकको सार्वजनिक कार्यक्रममा गोली हानेर मारिए पछि अमेरिका फेरि एक पटक राजनीतिक हिंसाको भयानक चपेटामा परेको छ।
गत वर्षको राष्ट्रपतीय निर्वाचनको क्रममा आफैंमाथि हत्या प्रयास भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्कको हत्या पछि विपक्षी डेमोक्रेटिक दलप्रति आक्रामक अभिव्यक्ति दिएका छन्। अतिवादी वामपन्थीलाई हत्याका लागि दोष दिँदै उनले बदला लिने पनि उद्घोष गरेका छन्। उनको अभिव्यक्ति पछि कतिपयले अमेरिकामा दंगा भड्किन सक्ने बताएका छन्। केहीले त गृहयुद्ध नै हुनसक्ने खतरा पनि औँल्याएका छन्।
को थिए कर्क?
सार्वजनिक बहसका माध्यमबाट अमेरिकाका दक्षिणपन्थी युवालाई गोलबन्द गरेका कर्कले १८ वर्षको उमेरमा कलेज छाडेर टिपीयुएसए खोलेका थिए। अमेरिकी विश्वविद्यालयमा उदारवादीको बोलवाला भएको र अझ फरक विचार निषेध गरिएका बेला उनले अभियान सुरू गरेका थिए।
दक्षिणपन्थी विचार भएकालाई विश्वविद्यालयमा बोल्न समेत नदिने वातावरण भएका बेलामा उनले विभिन्न कलेजमा गएर बहस गरेका थिए। उनको वाकपटुता र जुझारू स्वभावका कारण उनी छोटो समयमा नै दक्षिणपन्थीहरू माझ लोकप्रिय भए। रिपब्लिकन पार्टी निकट चन्दादाताले उनको संस्थामा लगानी खन्याउन थाले।
द न्युयोर्क टाइम्सका अनुसार टिपीयुएसए र सो संस्था अन्तर्गतका निकायले २०२३ मा झन्डै १० करोड डलर आम्दानी गरे। अमेरिकाका करिब ८५० क्याम्पसमा शाखा भएको उनको संस्थाले ती क्याम्पसमा दक्षिणपन्थी विचारकहरू ल्याएर बहस गराउँथे। ट्रम्प आफैंले त्यस्ता कतिपय कार्यक्रममा भाग लिएका छन्। उनले युवाहरूको मत एकोहोर्याएर ट्रम्पलाई चुनाव जित्न मद्दत गरेको ट्रम्प स्वयंले स्वीकार गरेका छन्।
उनले अहिले नै कुनै पनि सार्वजनिक पदका लागि चुनाव नलड्ने भन्दै आएका थिए। तर पनि दक्षिणपन्थी विचारकका रूपमा उनको धेरै प्रभाव थियो। कतिले त उनलाई भविष्यमा रिपब्लिकन पार्टीको राष्ट्रपतीय उम्मेदवार ठान्थे।
किङ र कर्कबीचको तुलना
उनको हत्या भएपछि टाइम्सले उनको तुलना सन् १९६८ मा गोली हानेरै हत्या गरिएका मार्टिन लुथर किङसँग गरेको छ। तर बोलेर अरूलाई प्रभावित पार्न सक्ने बाहेक कर्क र किङबीच केही पनि समानता थिएनन्।
अश्वेतको अधिकारका लागि लडेका किङलाई कर्कले खराब व्यक्ति भन्थे। श्वेत प्रहरी अधिकारीले घाँटीमा घुँडाले थिचेर हत्या गरिएका अश्वेत जर्ज फ्लोइडलाई कुकर्मी भन्थे। अश्वेतहरूले मौज-मस्तीका लागि अमेरिकाभरि श्वेत मानिसहरूमाथि हमला गर्छन् भन्थे। इस्लाम पश्चिमी सभ्यतासँग मेल नखाने बताउँथे।
अर्को तर्फ मुसलमानले सबैभन्दा ठूलो शत्रु ठान्ने इसराइलमा रहने यहुदीहरूको पनि विरोध गर्थे। अमेरिकामा रहेका यहुदी दाताहरूले आर्थिक सहयोग गरेर अमेरिकी कलेज विश्वविद्यालयमा मात्रै नभएर हलिउडमा पनि वामपन्थी कट्टरपन्थीलाई उक्साएको आरोप लगाउँथे। डेमोक्रेटिक महिलाहरू सन्तान नपाइ एक्लै मर्न चाहन्छन् भनेर टिप्पणी गर्थे।
त्यस्तै उनी समलिङ्गी र पारालिङ्गीहरूको उग्र विरोध गर्थे। बालबालिकाको लिङ्ग परिवर्तन गराउने चिकित्सकहरूलाई यहुदीको नरसंहार गर्ने नाजीहरूलाई चलाए जसरी मुद्दा चलाउने भन्थे।
उनले यस्ता भड्किलो अभिव्यक्ति दिए पनि उनले राम्रा कुरा पनि गर्थे। किङले जस्तै उनले पनि हिंसाको विरोध गर्थे। जब मानिसहरूले कुरा गर्न बन्द गर्छन्, तब हिंसा हुन्छ, गृहयुद्ध हुन्छ भन्थे। अर्कालाई दुष्ट ठान्न थालेपछि मान्छेले मानवता गुमाउँछन् भनेर सचेत गराउँथे।
उनले यसरी अहिंसाको कुरा गरे पनि उनका उग्र समर्थक भने हिंस्रक थिए। उनका विरोधी खेमाका केही कट्टरपन्थी पनि हिंसामा विश्वास गर्ने थिए। त्यसैले त उनी कडा सुरक्षाका साथ हिँड्थे। दक्षिणपन्थीको अनलाइन द फ्रि प्रेसले हत्या भएको बेला समेत ‘बुलेटप्रुफ भेस्ट’ लगाएको हुन सक्ने जनाएको छ। त्यसबारे थाहा पाएरै सायद उनलाई घाँटीमा गोली हानिएको हुनसक्छ।
उनको हत्या गरेको आरोपमा २२ वर्षीय टाइलर रबिन्सन पक्राउ परेका छन्। उनको राजनीतिक विचारधारा के थियो भन्ने अझै पुष्टि हुनसकेको छैन। कतिपयले त रबिन्सन पनि दक्षिणपन्थी भएको दाबी गरेका छन्। हत्या भएको ठाउँमा भेटिएको गोलीको खोकामा ‘यदी तपाईंले यो पढ्दै हुनुहुन्छ भने तपाईं समलिङ्गी हो’ भनेर लेखिएको थियो। त्यस्तै फासीवादको विरोध गरेको एक इटालीयन गीत लेखिएको खोका पनि भेटिएको थियो। यसले उनी कर्कको विपक्षी खेमाको भएको संकेत गर्छ। विपक्षी खेमाकै नभए पनि उनलाई कर्कको समलिङ्गी विरोधी र फासीवादी विचार मन नपरेको देखिन्छ।
विभाजनकारी प्रतिक्रिया
कर्कको मृत्युपछिको प्रतिक्रिया पनि उनको विचारजस्तै विभाजनकारी थियो। ट्रम्प लगायत दक्षिणपन्थीले उनलाई नायक र शहीदको रूपमा प्रशंसा गरे। अर्को तर्फ कतिपय उदारवादीहरूले काखी बजाउँदै खुशियाली मनाए। यसले अमेरिकी समाजलाई झन् विभाजित पारेको छ।
बदला लिने ट्रम्पको अभिव्यक्तिले झन् आगोमा घिउ थपेको छ। किङको हत्या पछि जस्तै अमेरिकाका विभिन्न शहरमा दंगा भड्किन सक्ने खतरा बढेको छ।
कर्कको हत्या भएको युटा राज्यका रिपब्लिकन पार्टीबाट निर्वाचित गभर्नरले देशभरका युवाहरूलाई संयमित हुन आह्वान गरेका छन्। रिसको आवेगमा कदम नचाल्न आग्रह गरेका छन्।
त्यस्तै बर्नी सान्डर्स लगायत केही डेमोक्रेटिक नेताले पनि शान्तिको सन्देश दिएका छन्। तर राष्ट्रपति ट्रम्प आफैँले भड्किलो अभिव्यक्ति दिएकाले हिंसाको खतरा भने अझै टरेको छैन।