भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार ७५ वर्ष पूरा गरेका छन्।
योसँगै फेरि एक पटक उनको राजनीतिक भविष्यबारे चर्चा हुन थालेको छ। भारतीय जनता पार्टी (भाजपा) मा मोदीको पकडका कारण माउ संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) सँग पछिल्लो समयमा भएको खटपट फेरि सान्दर्भिक भएको छ।
आरएसएसका प्रमुख मोहन भागवतले पछिल्लो समय मोदी लक्षित टिप्पणी गरेका छन्। मोदीले भाजपामा पहिल्यै लागू गरेको ७५ वर्षको उमेर हदको विषय पनि उनले उठाएका छन्।
भाजपामा जहिल्यै पनि आरएसएस हावी हुन्छ वा कम्तीमा भाजपामाथि यसको दबाब रहन्छ। भाजपामा आरएसएसको दबदबा किन हुन्छ भनेर बुझ्न यसको इतिहास जान्नुपर्ने हुन्छ।
हिन्दु राष्ट्रवादको नारासहित स्थापना भएको आरएसएसले नै राजनीतिक शक्ति हासिल गर्न भाजपालाई राजनीतिक शाखाका रूपमा सुरू गरेको हो। सन् १९५१ मा स्थापना भएको भारतीय जन संघ आरएसएसले खोलेको पहिलो राजनीतिक दल हो।
भारतीय राष्ट्रिय कंग्रेसबाट प्रधानमन्त्री निर्वाचित इन्दिरा गान्धीले सन् १९७५ मा संकटकाल लगाएपछि जन संघसहित धेरै विपक्षी दल एकजुट भए। यी सबै दल मिलेर बनेको जनता पार्टीले सन् १९७७ को आम निर्वाचनमा बहुमत ल्यायो।
गान्धीको ज्यादतीका कारण एक भएका दलहरूबीच सत्तामा पुगेपछि भने वैचारिक भिन्नता लगायत विभिन्न कारणले मतभेद भयो। विशेषतः जन संघबाट आएका नेता अटल बिहारी बाजपेयी र लालकृष्ण आडवाणी लगायतसँग आरएसएसको पनि सदस्यता भएकाले दोहोरो सदस्यताको विवाद उठ्यो।
आरएसएसको हिन्दु अतिवादी विचारधारा लगायतका कारण भएको मतभिन्नताले तीन वर्षमै जनता पार्टीको विघटन भयो। त्यसपछि आरएसएसले सन् १९८० मा भाजपाको स्थापना गरेको हो।
मोदीको राजनीतिक जीवन नै आरएसएसको प्रचारकका रूपमा सुरू भएको हो। पछि आरएसएसले उनलाई भाजपामा पठाएको हो।
सन् २०१४ मा चुनाव जितेर शक्तिशाली प्रधानमन्त्री बनेपछि मोदी नै आरएसएसमाथि हावी भए। आफ्ना विश्वासपात्र अमित शाहसँग मिलेर मोदीले भाजपालाई आफूखुसी चलाए। सन् २०२० पछि शाहको ठाउँमा जेपी नड्डा भाजपा प्रमुख भए पनि पार्टीमा मोदी र शाह नै हावी छन्।
मोदीले प्रधानमन्त्री भएपछि आरएसएसको नागपुरमा रहेको मुख्यालय भ्रमण समेत गरेनन्। भाजपाबाट मोदीभन्दा अगाडि प्रधानमन्त्री बनेका अटल बिहारी बाजपेयीले सरकारको नेतृत्व गरेपछि आरएसएस मुख्यालय भ्रमण गरेका थिए। तर मोदीकालमा आरएसएसका प्रमुख मोदीलाई भेट्न दिल्ली जानुपर्ने अवस्था छ।
पछिल्लो समय यो शक्ति सन्तुलन केही फेरिन थालेको संकेत देखिएका छन्।
गत वर्ष भएको संघीय चुनावमा भाजपाले खराब प्रदर्शन गरेपछि बिस्तारै फेरि आरएसएस हावी हुन थालेको टिप्पणी हुन थालेको छ। कतिले त आरएसएसले खुलेर भाजपाको चुनाव प्रचारमा संलग्न नभएकाले नै चुनावमा खराब प्रदर्शन गरेको दाबी गरेका छन्।
भाजपाले मोदीलाई मात्रै केन्द्रविन्दुमा राखेर चुनाव लडेकाले व्यक्तिवाद हावी भएको भनेर आरएसएस रूष्ट थियो। त्यसमाथि मोदी स्वयंले आफू जैविक कारणले नभएर आफूलाई देवताले पठाएको दाबी गरे। झन् भाजपा अध्यक्ष नड्डा लगायतका नेताले चुनाव जित्न भाजपालाई पहिलेको जस्तो आरएसएसको आवश्यकता नभएको भनेर आगोमा घिउ थपे।
यी सबै कारणले आरएसएसले खुलेर चुनाव प्रचारमा भाग लिएन। भाजपाले पछिल्ला केही आम निर्वाचनमा सजिलै जितेका ठूला राज्य उत्तर प्रदेश र महाराष्ट्रमा धेरै सिट गुमाएका कारण नै भाजपाको बहुमत आएन।
चुनावमा खराब नतिजा आएपछि भागवतले त्यसको दोष मोदीलाई दिने खालका टिप्पणी गरे। मोदीको नाम नलिए पनि सेवकमा अहंकार हुन नहुने बताए।
द क्याराभान पत्रिकाका कार्यकारी सम्पादक हर्तोस सिंह बालले केही महिनाअघि फरेन अफेयर्स पत्रिकामा यसबारे चर्चा गरेका छन्।
गएको दशकभरि संघीय चुनावमा मात्रै नभएर विधानसभा चुनावमा समेत मोदीकै नाममा भाजपाले चुनाव लड्दै आएको थियो। धेरैजसो राज्यमा भाजपाले सरकार पनि बनायो।
सन् २०२४ को संघीय चुनावपछि हरियाणा, महाराष्ट्र र दिल्लीमा भएको विधान सभा चुनावमा भने भाजपा मोदीको नाममा लडेन। मोदीको नाममा नलड्दा पनि ती राज्यमा जित्यो। यसपछि भाजपामा आरएसएस झनै हावी भएको जिकिर पत्रकार बालले गरेका छन्।
यही बदलिँदो शक्ति सन्तुलनको परिणाम स्वरूप गत मार्चमा मोदीले अन्ततः नागपुरमा रहेको आरएसएस मुख्यालय भ्रमण गरेको तर्क बालले गरेका छन्।
सन् २०२३ मा नड्डाको तीनवर्षे कार्यकाल सकिए पनि भाजपाको नयाँ अध्यक्ष चुनिएको छैन। नड्डाकै कार्यकाल सुरुमा २०२४ सम्म र त्यसपछि फेरि तन्काइएको छ। भाजपा प्रमुख कसलाई बनाउने भन्नेबारे पनि आरएसएस र मोदीको रस्साकस्सी चलिरहेको बताइन्छ।
फेरि पनि मोदीको चाहना अनुरूप नड्डाजस्तो कमजोर पार्टी प्रमुख बनाउन नहुने तर्क आरएसएसभित्र चलिरहेको छ। त्यसै कारण लामो समयदेखि भाजपाले नयाँ पार्टी प्रमुख पाएको छैन।
मोदीको राम्रो सम्बन्ध नरहेका र उनले देख्न समेत नसक्ने सञ्जय जोशीलाई आरएसएसले नयाँ पार्टी प्रमुख बनाउन खोजेको भनेर भारतीय मिडियाले लेखेका छन्।
जोशीले सन् १९८० दशकको अन्त्यतिरदेखि सन् १९९५ सम्म गुजरातमा मोदीसँग मिलेर पार्टीका लागि काम गरेका थिए। पछि उनीहरूको सम्बन्ध चिसिएको थियो।
मोदी गुजरातको मुख्यमन्त्री भएका बेला जोशी भाजपाका राष्ट्रिय महासचिव थिए। पछि एक महिलासँग जोशीको अशोभनीय भिडिओ सार्वजनिक भएपछि सन् २००५ मा उनले महासचिवबाट राजीनामा दिए। आरएसएसले भने आजपर्यन्त जोशी निर्दोष रहेको र उनलाई फसाउन सो भिडिओ फर्जी बनाइएको दाबी गरेको छ।
अर्कोतिर गुजरातमा द्रुत आर्थिक विकास गराएका मोदीको राष्ट्रिय राजनीतिमा बढुवा भयो। उनी भाजपामा पनि शक्तिशाली बन्दै गए।
सन् २०१२ मा अहिलेका संघीय मन्त्री नितिन गडकरी भाजपा प्रमुख थिए। मोदीले गडकरीलाई भनेर जोशीलाई केन्द्रीय समितिबाट समेत हटाउन लगाएको धेरैको विश्वास छ। अहिले मोदीको पकडबाट पार्टीलाई बाहिर ल्याउन आरएसएसले जोशीलाई नै भाजपा प्रमुख बनाउन खोजेको धेरैको अनुमान छ।
मोदी आफैले भाजपामा लागू गरेको उमेर हदका कारण पनि उनलाई अहिले अप्ठ्यारो परेको हो।
सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री बनेपछि भाजपाका वरिष्ठ नेताहरूलाई पाखा लगाउन मोदीले दलमा सक्रिय रहने उमेर हद ७५ वर्ष कायम गरेका थिए। त्यसबारे लिखित विधान नबनाए पनि सोही नियम अनुसार उनले लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, यशवन्त सिन्हाजस्ता वरिष्ठ नेतालाई पाखा लगाएर पार्टीमा पकड मजबुत पारे।
मोदीले बुधबार ७५ वर्ष पूरा गरेकाले उमेर हदको कुरा फेरि उठेको हो।
आरएसएसका प्रमुख मोहन भागवतले गत जुलाइमा सार्वजनिक रूपमै उमेर हदको विषय उठाएका थिए। मोदीको नाम नलिए पनि भागवतको टिप्पणी उनैप्रति लक्षित मानिएको थियो।
अगस्ट अन्त्यमा मनाइएको आरएसएस स्थापनाको शतवार्षिकीमा पनि उनले भाजपासँगको सम्बन्धमा तनाव भएको स्वीकार गरेका थिए। भाजपासँगको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले राम्रो रहेको भनेनन्। मतभेद भए पनि मनभेद भने नभएको बताए।
आफूसँग रिसाएका भागवतलाई खुसी पार्न मोदी प्रयास गरिरहेका छन्।
भागवतले गत साता मात्रै ७५ वर्ष उमेर पूरा गरे। मोदीले उनलाई सामाजिक सञ्जालबाट जन्मदिनको शुभकामना दिए। भागवतको तारिफ गरेर लेख नै लेखे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाइको अन्त्यतिरबाट भारतप्रति आक्रामक नीति लिएका कारण मोदीलाई आरएसएसको दबाबबाट केही राहत भएको देखिन्छ।
भारतले रूसी कच्चा तेल किनेको भन्दै अगस्टको अन्त्यदेखि अमेरिकी वस्तुमा अतिरिक्त २५ प्रतिशत भन्सार लगाएका छन्। त्यो सहित भारतबाट आयात हुने सबै सामानमा अमेरिकाले अहिले ५० प्रतिशत भन्सार लगाएको छ। त्यस कारण भारतीय अर्थतन्त्रमै असर परेको छ।
यसरी ट्रम्पले भारतलाई अप्ठ्यारो पारेका बेलामा आरएसएसले मोदीको विरोध नगरेको हुनसक्छ।
आरएसएसले मोदीको विरोध कम गरे पनि शक्तिसंघर्ष भने सकिएको छैन। भाजपा प्रमुखको चयन हुन अझै बाँकी छ। मोदीको चाहना अनुरूपकै मान्छेलाई आरएसएसले मानेको भए अहिलेसम्म चयन भइसक्ने थियो।
भाजपा प्रमुखका लागि खटपट जारी रहे पनि मोदीको प्रधानमन्त्री पद खतरामा देखिँदैन। भाजपा नेताको हवाला दिँदै उनलाई नहटाइने भनेर मोदीको जन्मदिनको अवसरमा ब्लुमबर्गले समाचारमा लेखेको छ।
७५ वर्ष पुगे पनि अहिलेको गठबन्धन नभत्किए मोदी पूरै कार्यकाल प्रधानमन्त्री रहने अपेक्षा गरिएको छ।
तर सन् २०२९ को चुनावमा भाजपाको नेतृत्व गर्न उनलाई मुस्किल पर्ने देखिन्छ। शक्ति संघर्षमा आरएसएस हावी हुँदै गएको सन्दर्भमा भाजपाले चुनाव जिते पनि सन् २०२९ पछि भने मोदी प्रधानमन्त्री नहुन सक्छन्।
***
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)