सर्वोच्च अदालतले रिट निवेदन दर्ता गरेर अघि बढ्ने तयारी गरेको छ।
भदौ २४ गते जेनजी आन्दोलनको क्रममा भएको आगजनीपछि सर्वोच्च अदालतले मुद्दा दर्ता गरेको छैन। साथै बन्दी प्रत्यक्षीकरण बाहेकका इजलास बसेको छैन। अदालतमा भएका झण्डै ८० प्रतिशत मिसिल जलेका छन्।
सर्वोच्चले मुद्दा दर्ता सुरू गर्नुअघि बिहीबार महान्यायाधीवक्ता कार्यालय, नेपाल बार एसोसिएसनका पदाधिकारी, सर्वोच्च बार एसोसिएसनका पदाधिकारी र उपत्यकामा भएका बार एसोसिएसनका अध्यक्ष र सचिवलाई छलफलमा डाकेको छ।
सर्वोच्च अदालतको मंगलबार बसेको पूर्ण इजलासको बैठकले मुद्दा दर्ता गरेर अघि बढ्ने समझदारी कायम गरेको थियो। त्यसअनुसार सर्वोच्चले नयाँ मुद्दा दर्ताबारे बार र महान्यायाधीवक्ता कार्यालयलाई राय मागेको थियो।
‘झगडियालाई कानुन व्यवसायीले अदालत ल्याउन सक्ने अवस्था छ कि छैन भनेर हामीले छलफल गर्न लागेका हौँ,’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘सबैलाई विश्वासमा लिएर अघि बढ्न लागेका छौँ।’
सर्वोच्च अदालतका न्यायाधीशहरू इसलास बसेर मुद्दा हेर्न अकमकाइरहेका छन्। न्यायाधीशहरूले मुद्दा दर्ता भएपछि आउने आदेशका कारण न्यायाधीशहरू थप समस्यामा पर्ने त हैनन् भन्ने चिन्ता फूलकोर्टको बैठकमा गरेका थिए। निष्ठापूर्वक गरिएका आदेश र फैसलामाथि पनि प्रश्न उठ्न सक्ने अवस्थाबारे न्यायाधीशहरूले चिन्ता व्यक्त गरेका थिए।
‘असुरक्षा र अराजकता छ,’ ती न्यायाधीशले भने, ‘तरिका नपुग्दा देशमा असहज अवस्था आउँछ। त्यसैल बुद्धिमत्तापूर्ण, संयमित भएर वैधानिक तरिकाले कदम चाल्नुपर्नेछ। वातावरण प्रदुषित छ। राम्रै सदाशयता र नियतबाट गरिने कामलाई पनि खुइल्याउने अवस्था छ।’
कतिपय न्यायाधीशहरूले भने तिहार पर्वपछि मात्र रिट निवेदन लिएर अघि बढ्नु उचित हुने धारणा बैठकमा राखेका थिए।
कतिपय न्यायाधीशहरूले भने कार्यपालिकालाई संविधान र कानुनको बाटोबाट अघि बढाउन न्यायालय प्रभावकारी ढंगले काम गर्नुपर्ने बताएका थिए। अन्यथा नागरिकका मौलिक अधिकारमा चुनौती थपिने उनीहरूको धारणा थियो।
महान्यायाधीवक्ता सविता भण्डारीले बिहीबार सर्वोच्च अदालतले नयाँ मुद्दा दर्ता सम्बन्धमा छलफलका लागि डाकिएको बताइन्।
‘हामी मुद्दा दर्ता गर्न तयार छौँ,’ भण्डारीले सेतोपाटीसँग भनिन्, ‘हाम्रो पुनरावेदन र दोहोर्याइपाउँ अघि बढाउन तयार छौँ। तर जसले मुद्दा दर्ता लिने हो। उहाँहरू तयार हुनुहुन्छ कि हुनुहुन्न भन्नेमा उहाँहरूको कुरा सुनेर अघि बढ्नेमा छौँ।’
भण्डारीले जिल्ला सरकारी वकिल कार्यालयले पनि यताउताबाट कम्प्युटरहरू ल्याएर काम सुरू गर्न थालेको बताइन्।
‘अदालतले भन्छ भने नयाँ मुद्दा अघि बढाउन सकिन्छ,’ भण्डारीले भनिन्, ‘पुराना मुद्दा खोज्दै गर्नुपर्ने हुन्छ।’
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार सर्वोच्च परिसरमा रहेको एनेक्स भवनमा दुई वटा इजलास तयार पारिएको छ। तत्कालका लागि दुई वटा इजलास राखेर अघि बढ्ने तयारी सर्वोच्चको छ।
त्यसपछि भने निर्माणाधीन भवनमा तिहारपछि थप इजलास सञ्चालन गर्ने तयारी छ।
नयाँ भवनमा पनि केही इजलास तयार पार्न सर्वोच्च अदालतले ठेकेदार कम्पनीलाई आग्रह गरिसकेको छ। त्यस्तै निर्माणाधीन नयाँ भवनको तल्लो तलामा कार्यालय राखेर कर्मचारीहरूले काम सुरू गर्ने तयारी गरिरहेका छन्।
त्यसका लागि तयारी भइरहेको पाण्डेले बताए।
‘नयाँ भवनको स्ट्रक्चरको काम लगभग सकिन लागेको छ। तर फ्लोरिङको काम बाँकी छ,’ पाण्डेले भने, ‘तल्लो तलामा कर्मचारीको फाँट राख्ने गरी तयारी भइरहेको छ। सम्भवत एक हप्ताभित्र काम सक्छौँ।’
न्यायाधीशहरू न्यायको काम रोक्न नहुनेमा एकमत छन्।
‘कतिपय मानिसहरू मर्का परेर बसिराखेका होलान्,’ ती न्यायाधीशले भने, ‘न्याय दिने काम रोक्न हुँदैन भन्नेमा हामी सबै पुगेका छौँ।’