नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नरहेको बताएका छन्।
शुक्रबारबाट सुरू भएको केन्द्रीय सचिवालयको ५८ औं बैठकमा सचिवालय सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा आफूले राजीनामा दिनुपर्ने, मार्ग प्रशस्त गर्नुपर्ने कुनै कारण नरहेको बताएका थिए।
'मैले मुलुकको अहित हुने के काम गरेको छु र? मैले के बिगारेको छु र? मैले भ्रष्टाचार गरेको छु, मैले किन दिनुपर्ने राजीनामा, के वापत दिनुपर्ने हो?,' ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने।
उनले राजीनामा नदिने र पार्टी महाधिवेशनतर्फ अघि बढेको भन्दै सचिवालय बैठक समापन गरेका थिए।
ती पदाधिकारीका अनुसार यो सचिवालय बैठकमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले मुखर ढंगले अध्यक्षबाट ओलीको राजीनामा मागेका थिए। उनीहरूले शुक्रबारकै बैठकमा राजीनामा माग गरेका थिए।
शुक्रबारको बैठकमा उपाध्यक्ष गुरू बरालले पार्टी, आन्दोलनमाथि चौतर्फी आक्रमण भइरहेका बेला नेतृत्वविरूद्ध पनि आक्रमण गर्न नहुने भन्दै ओलीको प्रतिरक्षा गरेका थिए।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा बादलले पार्टी पुनर्गठनको पक्षमा धारणा राखेका थिए।
महासचिव शंकर पोखरेल र प्रदीप ज्ञवालीले पनि अध्यक्ष ओलीको प्रतिरक्षामै बोलेका थिए। पार्टी, आन्दोलनविरूद्ध प्रहार भइरहेका बेला नेतृत्वलाई कमजोर बनाउन नहुने नै उनीहरूको धारणा रहेको एक पदाधिकारीले बताए।
आइतबार बोल्नेमध्ये उपमहासचिव पृथ्वीसुब्बा गुरूङले छिट्टै महाधिवेशनमा गएर पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए। उनी नेतृत्वको विषयमा धेरै प्रवेश गरेनन्। बरू सामाजिक सञ्जाल बन्द गर्ने निर्णय ठीक नभएको तर्क गरे।
'सोसल मिडिया बन्द गर्ने निर्णय किन लिइयो भन्दै प्रश्न गर्नुभएको थियो,' एक पदाधिकारीले भने, 'उहाँले नेतृत्वको बारेमा खासै बोल्नुभएन। महाधिवेशनमार्फत पार्टी पुनर्गठन गर्नुपर्छ भन्ने धारणा राख्नुभयो।'
सोसल मिडिया बन्द गर्दा युवाहरू आक्रोशित भएको र परिस्थिति काबुबाहिर पुगेको आशय उनले प्रकट गरेको ती नेताले बताए।
आजको बैठकमा सचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको पक्षमा धारणा राखेका थिए। उनले ओलीलाई मार्ग प्रशस्त गर्न सुझाउँदै आफू लिडर आफ रिकन्सिलेसन (राष्ट्रिय मेलमिलापको नेता) बन्न भनेका थिए।
'समाजमा बेमेलको स्थिति देखा परेको छ। हाम्रोजस्तो विविधतायुक्त समाजमा सबैलाई एकताको सूत्रमा बाँध्ने नेताको खाँचो पनि छ,' सचिव भट्टराईको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'राष्ट्रियताको भावना विकास, पूर्वाधार निर्माण लगायत केही क्षेत्रमा तपाईंले मानक स्थापित पनि गर्नुभएको छ। त्यसलाई कायम राख्न पनि तपाईं लिडर आफ रिकन्सिलेसन बन्नुपर्ने देखिन्छ।'
उनले अध्यक्षको नाम लिएर पार्टीभित्र गुटबन्दी बढिरहेको, पार्टी पंक्तिलाई विभाजित तुल्याउने काम भइरहेको भन्दै प्रश्न उठाएका थिए।
'तपाईंको नाम लिएर तलतल गुटबन्दी भइरहेको छ। पार्टी पंक्तिलाई विभाजित गर्ने काम देखिएको छ। उपाध्यक्षहरूलाई अपमानित गर्ने, पार्टीका नेताहरूलाई अपमान गर्ने काम पनि भएको छ, यस्तो किन भइरहेको छ?,' उनले प्रश्न गरेका थिए।
सचिव गोकर्ण विष्टले पनि पार्टीसँगै नेतृत्व पुनर्गठनको पक्षमा धारणा राखेका थिए। उनले पनि मार्ग प्रशस्त गर्न सुझाव दिएको एक पदाधिकारीले बताए।
सचिव पद्मा अर्याल, रघुवीर महासेठ, लेखराज भट्टले भने महाधिवेशनमार्फत पार्टी पुनर्गठनको प्रश्न निरूपण गरिनुपर्ने धारणा राखेका थिए।
सचिवालय बैठकले पार्टीको ११ औं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने निर्णय गरेको छ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार महाधिवेशनको मिति र स्थान केन्द्रीय कमिटी बैठकले तय गर्नेछ। केन्द्रीय कमिटी बैठक यही असोज २९, ३०, ३१ गते बस्दैछ।
एमालेको १० औं महाधिवेशन २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो। चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा उद्घाटन भएको महाधिवेशनको बन्द सत्र सौराहामा भएको थियो।
मौजुदा केन्द्रीय कमिटीको कार्यकाल पाँच वर्षका लागि भए पनि एमालेले एक वर्षअगावै महाधिवेशन गर्न लागेको हो।
एमालेले दोस्रो विधान महाधिवेशन गरेर नीति र विधान तय गरिसकेको छ। एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा भएको थियो।
एमालेको ११ औं महाधिवेशन नेतृत्व महाधिवेशन हो। यसले पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।