अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका विषयमा आज दलहरुसँग छलफल गर्दैछन्।
साँझ ४ बजेका लागि डाकिएको बैठकमा प्रत्येक दलबाट दुई जनालाई प्रतिनिधित्व गराइदिन प्रधानमन्त्रीको तर्फबाट ७ वटा राजनीतिक दललाई पत्राचार गरिएको थियो।
बैठकमा नेकपा (एमाले)का तर्फबाट शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी हुने भएका छन्। यसअघि राष्ट्रपतिले डाकेको बैठकमा एमालेबाट ईश्वर पोखरेल र शंकर पोखरेल सहभागी थिए।
त्यस्तै नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ र गगन थापा बैठकमा सहभागी हुने भएका छन्। राष्ट्रपतिले डाकेको बैठकमा पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी भएका थिए।
त्यस्तै नेकपा (माओवादी केन्द्र)का तर्फबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी हुने भएका छन्। राष्ट्रपतिले आव्हान गरेको बैठकमा भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी भएका थिए।
‘उच्चस्तरिय सहभागिताका लागि भनेर पत्र आएको थियो’, माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रेस संयोजक गोविन्द आचार्यले भने, ‘वर्षमानजी र पम्फाजी सहभागी हुनुहुनेछ। हाम्रो तर्फबाट सरकारलाई निर्वाचनमा सहयोग गर्ने र निर्वाचनको वातावरण बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउने तयारी छ।‘
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी हुने भएका छन्। राष्ट्रपतिले डाकेको बैठकमा कार्यवाहक सभापति डिपी अर्याल गएका थिए।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि यसअघि राष्ट्रपति र निर्वाचन आयोगले दलहरुसँग छुट्टाछुट्टै छलफल गरेको थियो। तर सरकार आफैले भने दलहरुसँग संवाद गरेको थिएन।