सौराहा बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयार सरकारलाई सचेत गराउने, विचार मिल्नेसँग सहकार्य, निर्वाचनको ६ महिनाभित्र महाधिवेशनलगायतका १० बुँदे निर्णय गरेको छ।
दलहरुसहित सम्बद्ध सरोकारवालासँगको संवादलाई घनिभूत बनाउन तथा सुरक्षालगायत प्राविधिक र बन्दोबस्तीका अन्य तयारीलाई मजबुद र प्रभावकारी बनाउन सरकारलाई थप गम्भीर हुन आग्रह गर्ने निर्णय विस्तारित बैठकले गरेको छ।
रास्वपाले विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।
बैठकपछि प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा देशमा वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेको उल्लेख छ। यसका लागि समान विचार भएका परिवर्तनकारी शक्तिहरुसँग संवाद, सहमति र सहकार्यमा जोड दिन केन्द्रीय समितिलाई विशेष आग्रह गर्ने निर्णय विस्तारित बैठकले गरेको छ।
रास्वपाले यसअघि यस पार्टीले फागुन ७, ८ र ९ गते महाधिवेशनको मिति तोकेको थियो।
बैठकले अप्रत्यासित राजनीतिक परिस्थितिका कारण फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले पूर्वघोषित मितिमा महाधिवेशन गर्न नसकिने भनेको छ। निर्वाचन भएको ६ महिनाभित्रमा महाधिवेशन गर्ने गरी तालिका ल्याउन केन्द्रीय समितिलाई आग्रह गरिएको प्रवक्ता झाले बताए।
जेन–जी आन्दोलनकाक्रममा भएका मानवता विरोधी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र आउँदा दिनमा राज्यका निकायमा जेन–जी आन्दोलनको भावना र म्यान्डेटअनुसार उनीहरुको सहभागिता सुनिश्चित गर्न पनि रास्वपाले माग गरेको छ।
बैठकमा उठेको पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढीकरण र समावेशिताको विषयमा रास्वपाले पार्टी रूपान्तरणको पक्षमा व्यक्त भएका आवाज र प्रस्तावलाई विधि/प्रकृयाबाट सम्बोधन गर्ने निर्णय गरेको छ। बैठकमा पार्टीकी केन्द्रीय सदस्य डा.तोसिमा कार्कीले पार्टी रुपान्तरणको लिखित सुझाव पेश गरेकी थिइन्।
बैठकले सभापति रवि लामिछानेलाई नियन्त्रणमा लिएर पार्टीलाई राजनीतिक प्रतिशोधका उपकरणकारुपमा प्रयोग गरिएको भन्दै सभापतिविरुद्धका मुद्दाहरुलाई निष्पक्ष, स्वतन्त्र र द्रुत न्यायिक प्रकृयामार्फत निष्कर्षमा पुर्याउन न्यायालयसँग माग गरेको छ।
देशभर सञ्चालन गरिएको हस्ताक्षर अभियानमार्फत ४० लाखभन्दा बढी नागरिकले यो मुद्दामा राजनीतिक प्रतिशोध र अन्याय भएको भनेर ऐक्यबद्धता जनाएको रास्वपाले बताएको छ।
केन्द्रीय सदस्यसहित देशभरका ४ सय प्रतिनिधिहरु सहभागी रहेको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा.स्वर्णिम वाग्लेले चुनावी वाचापत्रको अवधारणा, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रुपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षर अभियान सम्बन्धी प्रतिवेदन पेश गरेका थिए।
पाँचवटै प्रतिवेदन उपर समूहगत छलफलमा सहभागी रहेका ७ समूहले सुभाव दिएको र केन्द्रीय समितिले ती सुझावहरु ग्रहण गरि प्रतिवेदनहरुलाई समृद्ध बनाउने निर्णय भएको प्रबक्ता झाले जानकारी दिए।
यस्ता छन् रास्वपा विस्तारित बैठकको निर्णय-