नेकपा एमालेमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल लामो समयदेखिका प्रतिस्पर्धी हुन्। दुवै अध्यक्ष केपी शर्मा ओलीकै समूहमा रहे पनि आन्तरिक रूपमा प्रतिस्पर्धीका रूपमा छन्। उनीहरूबीचको बेमेल र विमतिको लामो शृंखला छ।
उनीहरूको यो प्रतिस्पर्धा २०७१ सालको नवौं महाधिवेशनदेखि नै झाँगिएको हो। दुवै जना त्यतिबेला उपमहासचिवको प्रत्यासी थिए। पौडेलले चुनाव जिते। पोखरेल भने पराजित बन्न पुगेका थिए।
त्यति बेला पोखरेल बलिया दाबेदार थिए। तर तुलनात्मक रूपमा कमजोर मताधार भएका मानिएका घनश्याम भूसालले महाधिवेशनमा उपमहासचिव जितेका थिए।
यतिबेला पौडेलले पोखरेललाई हराउन भूसालसँग साँठगाँठ गरेको आरोप लागेको थियो। साविक लुम्बिनी अञ्चलले राप्तीलाई असहयोग गरेको मात्रै होइन आफ्नो प्रतिस्पर्धीलाई पाखा लगाएको आरोप लामोसमयसम्म एमालेवृत्तमा रहिरह्यो। अहिले पनि यदाकदा चल्ने गर्छ।
अहिले भूसाल एमालेमा छैनन्। दसौं महाधिवेशनमा उपाध्यक्षमा प्रतिस्पर्धा गरेका भूसाल अन्ततः एमाले छाडेर हिँडे। त्यसपछि एकीकृत समाजवादी प्रवेश गरेर महासचिव बनेका भूसाल माओवादीसहित कम्युनिस्ट घटकहरूबीच एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टीमा गएनन्। अहिले उनी एकीकृत समाजवादी पुनर्गठन गर्दै नेकपा (संयुक्त)सँग एकता गरेर त्यसको कार्यवाहक नेतृत्वमा रूपमा छन्।
यता पौडेल र पोखरेलको शक्ति संघर्ष मेटिएको थिएन।
यी दुईबीच लुम्बिनी प्रदेश अधिवेशनमा प्रतिस्पर्धा उत्कर्षमा पुगेको थियो।
लुम्बिनी अधिवेशनबाट पौडेल पक्षका राधाकृष्ण कँडेल अध्यक्ष निर्वाचित भएका थिए। पोखरेल समूहबाट उम्मेदवारी दिएका हरि रिजाल पराजित भए।
त्यतिबेला पौडेल खुलेर मैदानमा आएका थिएनन्। तर उनी पक्षका लुम्बिनीका नेता पोलिटब्युरो सदस्य लीला गिरीलगायतले त्यो पृष्ठभूमि तयार पारे।
त्यसवापत गिरीले सजाय पनि पाइसकेका छन्। संसदीय दलको नेता हुँदाहुँदै उनी मुख्यमन्त्री बन्न पाएनन्। चेतनाथ आचार्यलाई मुख्यमन्त्री बनाएर पोखरेल समूहले बदला लिइहाल्यो।
लुम्बिनीबाट सतहमा आएको पौडेल र पोखरेल समूहको शक्ति संघर्ष अन्यत्र पनि विस्तारित हुन लागेको थियो। लुम्बिनी प्रदेशको चुनावी प्रभाव बागमती, गण्डकी, कर्णाली र कोशीसम्मै विस्तारित भयो।
तर, धेरै झाँगिनबाट संस्थापन (ओली समूह)ले नै रोक्यो। मधेस र सुदूरपश्चिममा सर्वसम्मत रूपमा नेतृत्वको विवाद निरूपण गर्यो।
११ औं महाधिवेशनमा त्यसले विस्तारित रूप लिन नपाओस् भनेर ओली समूह सचेत थियो।
केही दिनअघि पौडेल र पोखरेलबीच झन्डै ७–८ घन्टा छलफल भएर सुलहको प्रयास भएको पोखरेलनिकट एक नेताले बताए।
‘उहाँहरूबीच राम्रो संवाद भएको छ। उहाँहरूबीच नमिलेको केही थिएन। सैद्धान्तिक, राजनीतिक बेमेल पनि होइन। उही कार्यशैलीका केही प्रश्न होलान्, मनमा केही कुरा बिझाएका थिए होलान्, माझामाझ भइसकेको छ,’ ती नेताले भने।
पौडेलले अहिले महासचिवको प्रत्यासी नरहेको सार्वजनिकरूपमै बताइसकेका छन्। शंकर पोखरेल महासचिवकै प्रत्यासीका रूपमा देखा परेका छन्।
त्यसो त ओली समूहभित्रै महासचिवका तीन जना आकांक्षी छन्। उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवालीले पनि महासचिवको आकांक्षा राखेका छन्।
उद्घाटन सत्रको केही दृश्यले गुरूङ समूहलाई झस्काएको छ। ओली पक्ष मात्रै बोलेको उद्घाटन सत्रमा कार्यक्रम सञ्चालकको रूपमा ज्ञवालीलाई उभ्याइएको थियो।
स्वागत मन्तव्य भने महासचिव पोखरेलले राखेका थिए। जबकि कार्यक्रम सञ्चालन महासचिवले गर्ने र स्वागत मन्तव्य उपाध्यक्ष मध्येले गर्ने एमालेका परम्परा छ। ओलीले ईश्वर पोखरेललाई रोक्ने परम्परा तोडेका हुन् कि ज्ञवालीलाई नेतृत्वमा ल्याउन चाहेका हुन्, पटाक्षेप हुन बाँकी नै छ।
महासचिवका रूपमा बलियो दाबी रहिरहँदा ज्ञवालीलाई मञ्च दिएर ओलीले सन्देश दिएका हुन् कि भन्ने गुरूङ पक्षलाई शंका उब्जाएको हो।
त्यसो त शनिबार राति नै गुरूङले ओलीलाई भेटेर कुनै हालतमा उपमहासचिव नदोहोरिने अडान राखिसकेका छन्। उनले आफू
महासचिव नै बन्ने र त्यो नदिने हो भने उपाध्यक्षमा सेट गर्नुपर्ने उनको प्रस्ताव छ।
गण्डकीमा बलियो मताधार (प्रतिनिधिका बीच) भएका गुरूङ रूष्ट नहुन् भन्नेमा ओली सचेत त छन् तर खुसी पार्ने सम्भावना पनि न्यून छ।
एमालेमा पदाधिकारी संख्या बढाउने ओली प्रयास सचिवालय बैठकमा विफल भइसकेको छ। शुक्रबार बसेको सचिवालय बैठकमा उनले पदाधिकारी संख्या थप्ने प्रस्ताव ल्याएका थिए। तर बैठकमा सहमति जुट्न नसकेपछि उनी आफैले फिर्ता लिइसकेका छन्।
त्यही प्रस्ताव बन्द सत्रमा ल्याउन भने नैतिक संकट छ।
यस्तो अवस्थामा ओलीले तीन उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरू बराललाई नै दोहोर्याउनुपर्ने हुन्छ। त्यसो त बराललाई अनुशासन आयोगमा पठाएर त्यहाँ गुरूङ ल्याउने सम्भावना नभएको पनि होइन।
तर, ओलीको मनोदशा यी तीन जनालाई नै उपाध्यक्ष दोहोर्याउने भएकाले गुरूङ समेट्न मुस्किल देखिन्छ।
त्यसो हुँदा गुरूङ, ज्ञवाली र विष्णु रिमाल उपमहासचिव दोहोर्याउने र महासचिव शंकर पोखरेल नै उठाउने ओलीको अहिलेसम्मको तयारी रहेको उनीनिकट नेताहरूले बताएका छन्।