सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध उजुरी आह्वान गरेको छ।
समितिले सिफारिस भएका व्यक्तिलाई न्यायाधीशमा नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
सूचना प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने समितिले जनाएको छ।
उजुरीकर्ताले आफ्नो नाम, थर, ठेगाना र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्नेछ। तर, आफ्नो परिचय खुलाउन नचाहनेले गोप्य रूपमा समेत उजुरी दिन सक्नेछन्।
करिब २० दिनअघि बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतका एक मुख्य न्यायाधीश र तीन न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।
तर, सिफारिसको निर्णयमा न्यायपरिषद् सदस्यसमेत रहेकी वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान र अर्का सदस्य महेशकुमार नेपालले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए।
न्यायाधीश मल्ल प्रधानले आधार र कारणबिना वरिष्ठता मिचिएको, सिफारिस समावेशी नभएको तथा नेपाल बारबाट समेत प्रतिनिधित्व नभएको भन्दै सम्पूर्ण सिफारिस प्रक्रियामा आफ्नो सहभागिता र सहमति नरहेको उल्लेख गरेकी थिइन्।
त्यस्तै, न्यायपरिषद् सदस्य नेपालले भने न्यायाधीश जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णयप्रति असहमति जनाएका थिए।