गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ।
राष्ट्रिय जेन्जी नागरिक अभियान, तामाङ नागरिक समाज, गुम्बा बिहार संरक्षण कोष र लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाउ संघर्ष समितिले संयुक्त रूपमा विरोधसभा गरेका हुन्।
प्रदर्शनकारीले आनी छोइङको नागरिकतासम्बन्धी विवादमा सरकारले तत्काल छानबिन गर्नुपर्ने र आरोप पुष्टि भए नियुक्ति खारेज गरी तामाङ समुदायबाट अर्को व्यक्तिलाई उपाध्यक्ष बनाउनुपर्ने माग गरेका छन्। आरोप गलत ठहरिए आरोप लगाउनेहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने उनीहरूको माग छ।
प्रदर्शनकारीले लुम्बिनी विकास कोषको नेतृत्वमा अन्य समुदायले अवसर पाए पनि बौद्ध धर्मावलम्बीमध्ये ठूलो जनसंख्या रहेको तामाङ समुदायले अवसर नपाएको भन्दै यसपटक तामाङ समुदायबाटै नेतृत्व चयन गर्नुपर्ने बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनको नागरिकता र आर्थिक कारोबारसम्बन्धी विषयमा सार्वजनिक रूपमा प्रश्न उठिरहेका बेला नियुक्ति गरिएको भन्दै विरोध भएको हो।
यसअघि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले पनि नियुक्ति खारेज गर्न माग गरेका थिए। उनले आनी छोइङको नागरिकता र विदेशबाट आएको रकमको स्रोतबारे निष्पक्ष छानबिन गर्नुपर्ने बताएका थिए।
खानले सन् २०१९ मा हङकङबाट १६ लाख ४९ हजार ९४० अमेरिकी डलर नेपाल भित्रिएको विषयमा प्रश्न उठाउँदै त्यसको स्रोत र वित्तीय पारदर्शिताबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका थिए। उनका अनुसार उक्त रकमको विषयमा विगतमा बैंक खाता रोक्का गरी अनुसन्धान अघि बढाइएको थियो। यी आरोप र दाबीबारे सम्बन्धित निकायको निष्कर्ष भने सार्वजनिक विवरणबाट स्पष्ट हुँदैन।
खानले लुम्बिनीमा पुरातात्विक सम्पदाको संरक्षण र विकासका नाममा भएका भनिएका अनियमितताबारे पनि छानबिन गर्न माग गरेका थिए। सरकारले नियुक्ति निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए।
प्रदर्शनकारीले आनी छोइङको नियुक्तिसम्बन्धी विवाद निष्पक्ष रूपमा टुंग्याउन र लुम्बिनी विकास कोषको नेतृत्व चयनमा स्थानीय समुदायको भावना तथा सम्पदा संरक्षणको विषयलाई ध्यान दिन सरकारसँग माग गरेका छन्।
तस्बिरहरूः
-ink-1792997439.jpeg)
-ink-1792997439.jpeg)
-ink-1792997439.jpeg)
-ink-1792997439.jpeg)
-ink-1792997438.jpeg)
-ink-1792997438.jpeg)
-ink-1792997438.jpeg)
-ink-1792997438.jpeg)
-ink-1792997438.jpeg)