नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटी दुवैको आकार बढाउने गरी प्रस्ताव लैजाने भएका छन्।
आइतबार बिहान ९ बजे बस्न लागेको केन्द्रीय कमिटीको अन्तिम बैठकमा अध्यक्ष ओलीले विधान संशोधन प्रस्ताव लैजान लागेको एक पदाधिकारी तहका नेताले सेतोपाटीलाई जानकारी दिए।
ती पदाधिकारीका अनुसार पदाधिकारीको आकार बढाएर १९ सदस्यीय र केन्द्रीय कमिटीको आकार २५१ सदस्यीयबाट बढाएर ३०१ पुर्याउने गरी ओलीले प्रस्ताव लैजान लागेका हुन्।
एमालेको मौजुदा पदाधिकारी संख्या १५ छ।
बुधबार बसेको सचिवालय बैठकमा विधान संशोधनमार्फत पदाधिकारी र केन्द्रीय कमिटी दुवैको आकार बढाउने गरी अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको प्रस्ताव फेल भएको थियो।
त्यतिबेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले ओलीको उक्त प्रस्तावमाथि प्रतिवाद गरेका थिए।
उनीहरूले विधान संशोधन गर्ने भए ७० वर्षे उमेर हद र २ कार्यकाल पनि राख्नुपर्ने भनेका थिए।
आफू पक्षकै नेताहरू पनि विपक्षमा उभिएपछि विधान संशोधन गर्ने ओलीको प्रस्ताव सचिवालय बैठकबाट फेल भएको थियो।
त्यहाँबाट प्रस्ताव पारित हुन नसकेपछि ओलीले केन्द्रीय कमिटीबाट विधान संशोधन प्रस्ताव पारित गर्न लागेका हुन्। केन्द्रीय कमिटीमा ओलीको पक्षमा दुई तिहाई बढी सदस्य छन्।
आफ्नो पक्षमा आकांक्षीहरूको लर्को लागेपछि ओलीले पदाधिकारीको संख्या बढाउन लागेका हुन्।